गान्तोक: जूम सालघारी निर्वाचन क्षेत्रका विधायक मदन सिञ्चुरीको अध्यक्षतमा आज नाम्ची जिल्लाको सामुदायिक भवनमा विभिन्न विभागका प्रमुखहरूलाई लिएर एक समन्वय सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै विधायक सिञ्चुरीले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले माघे मेलालाई र यसको सम्पदालाई राष्ट्रिय गौरवमा पुर्याउने दृष्टिकोणमाथि प्रकाश पारे। उनले आगामी दिनमा आयोजना गरिने माघे मेलालाई भव्य रुपमा सफल बनाउन स्थानीय जनप्रतिनिधिको सहभागिताको व्यापक उपस्थिति हुनुपर्ने अवगत गराए। उत्सवको क्रममा लागू हुने विभिन्न परम्परागत पक्षहरूको महत्त्वलाई प्रकाश पार्दै, विधायकले सहभागीहरूलाई स्मृति चिन्ह वितरण र ‘धन नाच’ र ‘मारुनी नाच’ जस्ता प्रदर्शनहरूमा परम्परागतरूपमा हुनु पर्ने विषयलाई प्राथमिकतामा दिए।
उनले परम्परागत स्टलहरू बाहेक एक तोकिएको क्षेत्र सिर्जना गर्न प्रस्ताव गरे, जसले स्थानीय खाना र पेय पदार्थहरूको बिक्रीमा केन्द्रित हुनेछ, जुन कार्यक्रमको क्रममा जनताले उपभोग गर्न र रमाइलो गर्न सकून भन्ने ध्येय राखेर काम गर्नुपर्ने आग्रह गरे। उनले स्थानीय प्रतिभाहरूलाई समर्थन र उत्थान गर्न र उनीहरूको प्रतिभालाई जनसामु प्रदर्शन गर्नका लागि कार्यक्रमहरू आयोजना गरिने बताए।
यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दे नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङले माघे मेला मनाउने उद्देश्य र महत्वबारे जानकारी गराइन्। समिति र उपसमितिले यो वर्ष माघे मेला भव्यताका साथ मनाउनुपर्ने विषयमा सुझाउ दिएकी छन्। उनले स्थानीय व्यापारी समुदायलाई पारस्परिक लाभको लागि स्थानीय बासिन्दाहरूलाई ५% वा १०% छुट दिने प्रस्ताव राखिन्। विशेष गरेर स्थानीयहरूलाई व्यापारको क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले यस प्रकारको छुट दिने जिल्लापालले सुझाउ राखेकी हुन्।
उनले माघे संक्रान्ति मेलाको बृहत् र दुर्लभ ऐतिहासिक महत्व भएकाले यसको सम्पदाको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन्। कार्यक्रमलाई भव्यताका साथ मनाउन उनले जोड दिए। उनले सबै स्थानीय होटल सञ्चालकलाई प्रत्येक दिन व्यापारिक सुविधासँगै परम्परागत खानाको प्रवद्र्धन गर्न पनि आग्रह गरिन्। जिल्लापाल तामलिङले स्वच्छ वातावरणलाई प्रवर्द्धन गर्न साथै कार्यक्रमको क्रममा उचित सरसफाइ सुविधाको व्यवस्था गर्नुपर्ने विषयमा पनि सबैले ध्यान दिनुपर्ने आग्रह गरिन्। सोही प्रकारले वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछोले माघे मेलाका पूर्व आयोजक समितिलाई गत वर्ष सफलतापूर्वक माघे मेला आयोजना गरेकोमा बधाई दिए। उनले थप जानकारी गराए अनुसार यस मेलामा छिमेकी देशका प्रतिनिधिहरूलाई पनि आमन्त्रित गरिन्छ भने उनीहरूले इनर लाइन पर्मिट लिन आवश्यक रहेको बताए।










