२८ अगस्तः मुख्य प्रशिक्षक राहुल द्रविड़ कोविड-१९ संक्रमणबाट मुक्त भएका छन् अनि आइतवार दुबईमा पाकिस्तान विरुद्ध एशिया कपको महत्त्वपूर्ण म्याचअघि भारतीय क्रिकेट टीममा सामेल हुनेछन्। यस प्रतिष्ठित महाद्वीपीय टुर्नामेण्टको निम्ति प्रस्थान गर्न अघि नियमित परीक्षणमा पूर्व दिग्गज ब्याटर द्रविड़को कोविड-१९ जाँचमा रिपोर्ट पोजिटिभ आएको थियो तर अहिले उनी संक्रमणबाट मुक्त भइसकेका छन्। कोविड जाँच रिपोर्ट पोजिटिभ आउँदा उनी टीमसँग यूएई जान सकेका थिएनन्। यसैकारण भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए)-का प्रमुख भीभीएस लक्ष्मणलाई टीमका अन्तरिम प्रशिक्षक नियुक्त गरेको थियो। द्रविड़ २३ अगस्तमा कोविड पोजिटिभ पाइएपछि आफ्नो घरमै क्वारण्टीनमा थिए। यसअघि बीसीसीआई सचिव जय शाहले बयान जारी गरेर भारतीय टीमका मुख्य प्रशिक्षकमा हल्का लक्षण रहेको जानकारी दिएका थिए। दुबई इण्टरनेशनल स्टेडियममा भारत र पाकिस्तानबीच बहुप्रतीक्षित म्याच आइतवार राति ७:३० बजीदेखि शुरु हुनेछ। यस म्याचमा भारतीय क्रिकेटप्रेमीहरूका नजर फेरि एकपल्ट पूर्व कप्तान विराट कोहलीमाथि रहनेछ, जो खराब फर्मसँग जुझिरहेका छन्।