सिलगढी: सिलगढी महकुमा अदालतको फस्ट ट्र्याक कोर्टले पत्नीको हत्या गरेको आरोपमा लोग्नेलाई दोषी ठहराउँदै उनलाई आजीवन कारावासको सजाय सुनाएको छ। यो घटना २०१२ को २६ जूनको राति सिलगढीको डांगीपाडा कुम्हार टोलीमा घटेको हो, जहाँ गायत्री नायक एकजना महिलालाई धारिलो हतियारले हत्या गरिएको थियो। घटना पछि आरोपी लोग्ने नवीन नायक भागेका थिए। तर सिलगढी खालपाडा आउटपोस्ट पुलिसले अभियोगको आधारमा जाँच गर्दै तीन दिनपछि एनटीएस मोडबाट आरोपी लोग्ने नवीन नायकलाई पक्राउ गरेको थियो।
यसपछि सिलगढी महकुमा अदालतको फस्ट ट्र्याक कोर्टले गायत्री हत्याकाण्डको सुनुवाइ सुरु गरेपछि लगभग १२ वर्षसम्म अदालतमा सुनुवाइ चलेपछि सबै प्रमाण अनि २२ जना गवाहीको आधारमा अदालतले आरोपीलाई दोषी ठहराउँदै आजीवन कारावासको सजाय सुनाएको हो।