भक्तपुर (नेपाल): प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासंघको प्रतिनिधिमण्डलले आज भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरे। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासंघका उपाध्यक्ष छङ स्युएयुआनको नेतृत्वमा आएको टोलीलाई भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैली प्रदान गरेर स्वागत जनाए। नगर प्रमुख प्रजापतिले चिनियाँ नेताको भक्तपुरका कला, संस्कृति संरक्षणलाई अवलोकनका क्रममा विशेष ध्यानाकर्षण भएको थियो। यस प्रकारको भ्रमणले नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास प्रकट गरिएको छ। महासंघका उपाध्यक्ष स्युएयुआनले सभ्यता र सँस्कृतिको दुई देश बिचको आदानप्रदानबाट सम्बन्धलाई अझै बलियो बनाउन सहयोग पुग्ने बताउँदै भक्तपुर गहिरो सांस्कृतिक जग भएको कलात्मक शहर भएको चर्चा गरे। उनले चीन–नेपालबीचको सम्बन्ध इतिहास जत्तिकै पुरानो रहेको स्मरण गरे। चिनियाँ टोलीमा महासंघका चु ल्यउ, लीन सियाओफान, चाओ रूओछन्, वाङ सङ हुई र चिनियाँ दुतावासबाट काउन्सिलर छिन वनछ्, वाङ तोङ, नेपाल प्रवासी चिनियाँ संगठनका अध्यक्ष चीन सियाओतोङ लगायतको सहभागिता रहेको थियो। प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर र चतुर्ब्रह्म महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अवलोकन गरे।