२८ अगस्त: बीरपाड़ा बादाहाउदा देविसिमुल सर्व समाजको तत्त्वावधानमा आयोजित सुपर कप २०२२ फूटबल टुर्नामेण्टको सीजन २-मा एसएस ११ बुन्दापानी र चाराली स्पोर्टिंग क्लब (झापा, नेपाल)-ले फाइनलमा स्थान बनायो। बीरपाड़ा फरेष्ट (जारिप) मैदानमा जारी नाइन ए साइड टुर्नामेण्टमा शनिवार दुईवटा सेमिफाइनल म्याच खेलियो। दिनको पहिलो सेमिफाइनलमा एसएस ११-ले इज्रायल गुरुङ फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमका सञ्जुलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो सेमिफाइनलमा चाराली स्पोर्टिंग क्लबले बीरपाड़ा पीएस-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। म्याच चरम रोमाञ्चक रह्यो। एक समय त बीरपाड़ा पीएस-को टीम २ गोलले अघि रहेको थियो तर नेपालको टीमले पनि असाधारण पुनरागमन गर्दै ५ मिनटभित्र २ गोल गरेर म्याचलाई २-२-को बराबरीमा पुऱ्यायो। चाराली स्पोर्टिंग क्लबका गोलकीपर सुरज लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब २८ अगस्त (आइतवार)-को दिन खेलिने फाइनलमा एसएस ११ र चाराली स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। गत वर्ष भएको सुपर कपको पहिलो सीजनमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी च्याम्पियन भएको थियो।