पहाडको कुनै पनि चालकले दुर्घटनामा आफ्नो ज्यान गुमाएको खण्डमा जीटीएले एक लाख रुपियाँको सहयोग राशि प्रदान गर्नेछ: अनित थापा

IMG-20241114-WA0229

दार्जिलिङ: पहाडको कुनै पनि चालकले दुर्घटनामा आफ्नो ज्यान गुमाएको खण्डमा जीटीएले एक लाख रुपियाँको सहयोग राशि प्रदान गर्नेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। आज बिहान गत २५ अक्टोबर २०२४ शुक्रवार राती भएको वीभत्स सडक दुर्घटनामा आफ्नो ज्यान गुमाउनेहरुको परिवारसँग भेटघाट गर्न जीटीएको प्रमुख कार्यपाल अनित थापा तीन माइलस्थित उनीहरूको घर पुगेका थिए। उनले सन्तप्त परिवारलाई समवेदना प्रकट गरेका छन्। उनले सहयाेग स्वरूप भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीको तर्फबाट एक – एक लाख राशि परिवार पक्षलाई प्रदान गरेका छन्। साथमा घायल भएर उपचार गरिरहेका अन्य दुईको परिवारलाई पनि उपचारको निम्ति केही रकम दिएको जानकारी प्राप्त भएको छ।
यस अवसरमा उनले भने, “कुनै पनि चालकको जीवनमाथि जब दुर्घटना घट्छ उमाथि आश्रित परिवारको अवस्था नै डावाँडोल भएर जान्छ। मैले चालक संघसँग यो कुरामा बातचीत गरेको छु। आगामी दिनहरुमा पहाडको कुनै पनि चालकले दुर्घटनामा आफ्नो ज्यान गुमाएको खण्डमा जीटीएले एक लाख रुपियाँको सहयोग राशि प्रदान गर्नेछ भन्ने प्रस्ताव जीटीए सभामा नै पारित गराउनेछु। यसको साथै यदि चालकको परिवारमा अन्य कोही पनि कमाउने व्यक्ति छैनन् भने उनको परिवारको एक सदस्यलाई जीटीएले आय उपार्जनको बन्दोबस्त पनि गर्नेछ।’
जीटीए प्रमुख अनित थापाले यस विषयमा अझ भने, ‘म जीटीएको प्रमुख कार्यपाल हुँ। म सबै पार्टीको व्यक्तिहरूको पनि प्रमुख कार्यपाल हुँ। मलाई मन पराउने, मन नपराउनेको पनि प्रमुख कार्यपाल हुँ। त्यसैले मबाट कुनै भेदभाव हुनेछैन।”
गत २५ अक्टोबर २०२४ शुक्रवार राती भएको वीभत्स सडक दुर्घट्नामा दुईजनाले प्राण गुमाएका थिए भने दुईजना घाइते भएका थिए। प्राण गुमाउनेहरुमा पेशोक रोड तीन माईल बजार टङ्के बस्तीका सुमित राई अनि आश्विन तामाङ रहेका थिए।
राष्ट्रिय राजमार्ग ५५ दार्जीलिङगामी बतासे राईभिल्ला नजीक नियन्त्रण गुमाएपछि डब्ल्बु बी ७४ डब्ल्बु ५६५७ नम्बरधारी वाग्येनर सडकबाट झरेर दुर्घटनाग्रस्त भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement