अब्बल दर्जाका कलाकार ‘अग्निदहन’का धामी माओत्से गुरुङ  

WhatsApp-Image-2024-11-11-at-11.50.09-AM

काठमाडौं: कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन्। दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन्। यिनै माओत्से यही नोभेम्बर २२ (मंगसिर मंसिर ७ गते)बाट रिलिज हुने फिल्म ‘अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ आउँदैछन्। माओत्सेका अनुसार उनलाई धामीको चरित्र निभाउन सजिलो थिएन। ‘एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो। मैले यो चरित्रका लागि धेरै तयारी पनि गरेको थिइनँ। म गाउँमा जन्मेर हुर्केको मान्छे। धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ। मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ’, माओत्से भन्छन्। आफूले धामी झाँक्रीले गरेको पुजाआजा र अनुष्ठान बच्चैदेखि देखेको हुनाले पनि ‘धामी’ चरित्र निभाउन अनुसन्धान नगरेको खुलाए। ‘घरमा सामन्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो। त्यसैले चरित्रबारे धेरै अनुसन्धान गरिनँ’, उनले भने।

ट्रेलरमा धामी बनेका माओत्सेले महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गरेका छन्। उनी आफू कथाको पात्र मात्र भएर यो काममा उपस्थित भएको बताउँछन्। माओत्सेकै भनाइमा यो काममा उनलाई खासै समस्या भएको रहेनछ। माओत्सेले फिल्मी करियरमा होस् वा नाटकमा होस्, सकारात्मक वा नकारात्मक दुवै चरित्र निभाए। जुनसुकै चरित्र निभाउँदा पनि उनलाई आफ्नो ‘इमेज’ बिग्रिएला भन्ने डर छैन। ‘अग्निदहन’मा धामी चरित्र निभाइरहँदा उनले यही कुरालाई मनन गरेका रहेछन्। ‘म कलाकार हुँ। फिल्म अथवा नाटकमा अभिनय गर्दा म प्रोटोगोनिस या एन्टोगोनिस मात्रै भूमिका गर्छु भनेर कहिल्यै रोज्दिनँ। मेरो भूमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ, त्यो हेर्छु’, उनी भन्छन्।

माओत्सेको देखाईमा ‘बोक्सी’को आरोप लागेका महिलाप्रति सबै धामी क्रुर हुँदैनन्। ‘सबै धामी क्रुर भएको देखेको छैन। कतिपय धामीले मनोवैज्ञानिक रूपमा ट्रिटमेन्ट गरेको पनि देखेको छु। तर, जो जसले बोक्सीको नाममा महिलालाई दु:ख दिइरहेका छन्, त्यो साच्चिकै अमानवीय कार्य हो’, माओत्से भन्छन्। माओत्सेले आफूलाई ‘अग्निदहन’ निर्देशक घनश्याम लामिछानेले ‘तपाईलाई सुहाउने एउटा रोल छ’ भनेपछि आफूले रोल सुनेर अभिनयका लागि सहमत भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement