रुपन्देही (नेपाल): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदैछन्। मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो। तर, बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइने पुलिसले जनाएको छ। मंगलबार र बुधबार गरी १३ घण्टा लामो बयान लिइएको हो। गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, इलाका पुलिस कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितसहित अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन्। ‘उनीसँगको बयान करिब करिब सकिएको छ, बाँकी बिहीबार लिनेछौं’, जिल्ला न्यायधिवक्ता पौडेलले भने। लामिछानेको बयान सम्भवतः आज सकिने उनको भनाइ छ।