गान्तोक: गत १० नोभेबर, २०२४ को दिन सिद्धार्थ तथागत कला-साहित्य संस्थान इटवा बजारको आयोजनामा अन्तरराष्ट्रिय तथागत सृजन सम्मान एवम् ‘वर्तमान हिन्दी लेखन की दिशा एवं दशा’ तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भयो।कार्यक्रमको अध्यक्षता डा. राजेन्द्र परदेशी वरिष्ठ साहित्यकार एवम् चित्रकार (उत्तर प्रदेश) अनि डा. भाष्कर शर्माद्वयले गरेका थिए। डा रघुवीर शर्माले सञ्चालन गरेका यस कार्यक्रममा अमलेन्दुनाथ मिश्र वरिष्ठ साहित्यकार, आयकर आयुक्त (आइआरएस,गोरखपुर) प्रमुख अतिथिको रुपमा आसिन थिए। विशिष्ट अतिथिको रुपमा प्रतिभा चौहान (वरिष्ठ साहित्यकार एवम् जिल्ला न्यायाधीश,बिहार), डा. रेखा यादव (वरिष्ठ साहित्यकार एवम् सांसद, काठमाडौँ), डा. कमला तामाङ (वरिष्ठ साहित्यकार एवम् पूर्व नगरपालिका अध्यक्ष, मिरिक), हंसराज कुशवाहा (सिनियर प्रोफेसर,रतनसेन डिग्री कलेज सिद्धार्थ नगर) उपस्थित थिए।
शर्मा होमियोप्याथी चिकित्सालय एण्ड रिसर्च सेन्टरको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा मिरिककी नारी हस्ताक्षर डा. कमला तामाङ, अमलेन्दुनाथ मिश्र (बिहार), प्रतिभा चौहान (बिहार), डा. रेखा यादव (काठमाडौं), डा. रघुवीर शर्मा (नयाँ दिल्ली), डा. सुरेश उजाला (फैजाबाद), डा. अमृता राणा (नेपाली भाषा परामर्श समिति साहित्यका सदस्य), डा. जीवन राणा (साहित्य अकादमी, नयाँ दिल्लीका पूर्व सदस्य)-लाई अन्तरराष्ट्रिय तथागत भूषण सम्मान प्रदान गरियो। उक्त अवसरमा प्रतिभा चौहानको ‘युद्धमा जीवन’ (कविता संग्रह), डा. राजेन्द्र परदेशी र डा. कमला तामाङको सम्पादनमा ‘भारत नेपाल की लधुकथाएँ’ अनि सूर्यप्रसाद लाकोजूद्वारा अनुदित ‘डा. राजेन्द्र परदेशीका चयनित कथाहरू’ मञ्चमा आसिन अतिथिको बाहुलीबाट लोकार्पण गरियो।









