गान्तोक: विद्या भारती सिक्किम प्रान्तले आज अध्यक्ष चन्द्रकुमार राईको नेतृत्वमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसित भेट गऱ्यो। राजभवनमा भएको उक्त भेटमा राज्यपाललाई विद्या भारती सिक्किम परिवारको तर्फबाट स्वागत गरिएको थियो। संस्थाका महासचिव विजय कुमार शर्माले विद्या भारती सिक्किमका पदाधिकारीहरूसँग परिचय गराए। यस टोलीमा १० जना प्रतिनिधि थिए। विद्या भारती सिक्किमको वर्तमान अवस्था, सूचना, परियोजना, आगामी योजना, समाजको सहयोग, गुणस्तरीय शिक्षा र विद्यार्थीबीचको मूल्यमान्यताका बारेमा छलफल भएको थियो। विद्या भारतीका कार्यकारिणी सदस्य राजकुमार अग्रवालले भगवान गणेशको तस्वीर उपहार दिएका थिए। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानद्वारा प्रकाशित पुस्तक-भारतीय ज्ञान परम्परा पनि प्रदान गरिएको थियो।