रुपन्देही: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा दोस्रो दिनको बयान सकिएको छ। बुधबार बिहान साढे १० बजेदेखि शुरु भएको बयान साँझ ७ बजे सकिएको हो। दोस्रो दिन आज लामिछानेलाई ६० वटा प्रश्न सोधिएको जिल्ला पुलिस कार्यालय रुपन्देहीले जनाएको छ। भोलि बिहीबार पनि बयान लिइने क्रम जारी रहने पुलिसले जनाएको छ। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा पुलिस अधिकारीहरूको उपस्थितिमा बयान लिइएको छ। बयान सकिएपछि गएराति लामिछानेलाई जिल्ला पुलिस कार्यालयको हिरासत कक्षमा राखिएको थियो भने बुधबार पनि सोही कक्षमा राखिने पुलिसले जनाए। रविको बयान चलिरहदा सहकारी पीडित र रास्वपाको विरोध भने अदालत परिसर बाहिर जारी थियो। पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लगिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो। प्रतिवेदनअनुसार, बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ। लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक २ कात्तिकमा पाँच दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक सात र तेस्रोपटक १० दिनको म्याद थप भएको थियो। लामिछानेविरुद्ध कास्की पुलिसले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। पुलिसले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ।