खरसाङ: युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले असाधारण पुनरागमनको साथ रोमाञ्चक जीत हासिल गरी आसनसोलमा जारी टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनायो। दोमोहनी इलेवेनद्वारा आयोजित मानिक उपाध्याय अनि पप्पु उपाध्याय मेमोरियल नक आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको क्वार्टर फाइनल म्याचमा यूकेएफसी-ले सनराइज फूटबल क्लब (ओडिशा)-विरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। म्याचमा शुरुमै २ गोल खाए पनि यूकेएफसी-ले असाधारण पुनरागमन गर्दै ३ गोलको साथ म्याच जित्यो। विजेता टीमबाट श्रीजल राई, नयन प्रधान र बिरेन प्रधानले गोल गरे। यूकेएफसी-ले अब १५ नोभेम्बरमा खेलिने दोस्रो सेमिफाइनलमा आफ्नो चुनौती पेश गर्नेछ।










