मुख्यमन्त्री पहाड, तराई अनि डुवर्सको अवस्थाप्रति गम्भीर नरहेको सासंद राजु विष्टको आरोप

IMG-20241113-WA0221

खरसाङ: राज्यकी मुख्यमन्त्री अहिले दार्जीलिङ भ्रमणमा छिन्। यस अवधि उनले दिएको वक्तव्यमा चियाबारी लगायत तराई अनि डुवर्स क्षेत्रमा रहेका विभिन्न समस्याहरूलाई लिएर उस्तो गम्भीर नरहेको दार्जीलिङका सांसद राजु विष्टले आरोप लगाएका छन्। सासंद विष्टले एक विज्ञप्ति जारी गरेर भनेका छन्, ‘मुख्यमन्त्री ममता ब्यानर्जी अर्थात पश्चिम बङ्गाल सरकारले दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरूलाई निरन्तर बेवास्ता गर्दै आएको छ। चिया उद्योगको जर्जर अवस्थादेखि लिएर बिग्रँदै गइरहेको पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्र, टिस्टा बाढ़ पीड़ितहरूका पीड़ा र आजीविकाका अवसरहरूको अभावसम्म, यहाँका जनताले उपेक्षा र शोषणको सामना गरिरहेका छन्। मुख्यमन्त्रीद्वारा दुई वर्षपछि हालैमा गरिएको क्षेत्रको भ्रमणले एकचोटि फेरि हाम्रो क्षेत्रप्रति उहाँको उपेक्षा अनि रत्तिभर चिन्ता नरहेको यथार्थ उदाङ्गो भएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको सत्ता अन्तर्गत दार्जिलिङको प्रतिष्ठित चिया उद्योग अहिले धराशायी अवस्थामा छ। क्षेत्रका ८७ चिया बगानहरूमध्ये दशवटा बन्द छन्। पश्चिम बङ्गाल सरकारले चिया उद्योग अथवा चिया बगान श्रमिकहरूलाई सहायता गर्न केही पनि गरेको छैन। बगान श्रमिकहरूलाई एक दशकभन्दा धेरै समयदेखि उचित ज्याला वा बोनसबाट वञ्चित राखिएको छ। देशको संसदले चिया अनि सिन्कोना बगान श्रमिकहरूका लागि उच्चतर ज्याला अनि उत्कृष्ट जीवन-यापन र कार्य-वातावरण सुनिश्चित गर्न पारित गरेको चार नयाँ श्रम कानुनहरू लागु गर्न पश्चिम बङ्गाल सरकार अहिलेसम्म असफल रहेको छ। बहुसंख्यक चिया बगान श्रमिक, सिन्कोना बगान श्रमिक, वन वस्ती, र डीआई फण्ड निवासी ग्रामीणहरूलाई उनीहरूका पुस्तौनी घर र जमीनको पर्जा पट्टाको अधिकारबाट वञ्चित गरिएको छ।’
सांसद राजु विष्टले अझ भने, “ममता ब्यानर्जीले आफ्नो भ्रमणकालमा यी महत्त्वपूर्ण मुद्दाहरूलाई पूर्णतया बेवास्ता गरिन्। स्थानीय प्रशासन सम्बन्धी मुद्दाहरूको समाधान गर्नका लागि भनिएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) विकास निम्ति आएको रकमको दुरुपयोग र भ्रष्टाचारमा लिप्त छ। यही हालत मुख्यमन्त्रीद्वारा स्थापित तथाकथित “विकास बोर्डहरू”को छ। यसको बावजूद, मुख्यमन्त्री ब्यानर्जीले उत्तरदायित्व निर्धारणको मागलाई बेवास्ता गरेर भ्रष्टाचार जारी राख्ने अनुमति दिनुभएको छ। दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका बहुसंख्यक ग्रामीण क्षेत्रहरूमा यथोचित सड़क सम्पर्कता साथै बुनियादी स्वास्थ्य सेवा सुविधा र शैक्षिक सेवाहरूको समेत अभाव छ।”
सासंद राजु विष्टले अघि भने, ‘प्रधानमन्त्री ग्रामीण सड़क योजना(पीएमजीएसवाइ), प्रधानमन्त्री आवास योजना(पीएमएवाइ), हर घर जल योजना, अमृत योजनाहरूमा कि त ढिल्याइँ भएको छ वा यिनले काम नै गरिरहेका छैनन्। दार्जिलिङ र कालेबुङमा शिक्षा र स्वास्थ्य सेवा सुविधा जर्जर अवस्थामा छ। सरकारी स्कूलहरूको रखरखाव एकदमै घटिया छ, स्टाफको कमी छ अनि यथोचित पूर्वाधारको अभाव छ। स्वास्थ्य सेवा सुविधाहरू स्टाफ अनि उपकरणहरूको गम्भीर कमीले गर्दा धराशायी अवस्थामा छन्। पश्चिम बङ्गाल सरकारद्वारा दार्जिलिङमा घोषणा गरिएको विश्वविद्यालयमा स्थायी स्टाफ, प्रोफेसरहरू त परै जाओस् यसको भवन समेत छैन। फेरि पनि मुख्यमन्त्री ब्यानर्जीले आफ्नो यात्राको बेलामा यीमध्ये कुनै विषयमाथि कुरा गर्ने आवश्यकता अनुभव गरिनन्। यसबाट स्पष्ट छ कि ममता ब्यानर्जीको सरकार दार्जिलिङ, कालेबुङ, तराई अनि डुवर्सका जनताले सामना गरिरहेका महत्त्वपूर्ण मुद्दाहरूको सम्बोधन गर्न असफल भएको छ। जनता पीड़ा भोग्न बाध्य छन् भने सरकार उनीहरूको समस्या र संघर्षप्रति मौन छ।’
सांसद विष्टले आफ्नो विज्ञप्तिमा अझ भनेका छन्, ‘म मुख्यमन्त्रीलाई हाम्रो क्षेत्रबाट पश्चिम बंगाल सरकारले कति राजस्व संकलन गर्छ र यहाँको विकासका लागि कति खर्च गर्छ भन्ने लेखा-जोखा देखाउन अनुरोध गर्दछु। हाम्रो क्षेत्रको विकासका लागि प्रयोग गरिएका सबै रकम केन्द्र सरकारबाट प्राप्त कोष हुन् र पश्चिम बंगाल सरकारले एक रुपियाँ पनि अतिरिक्त आफ्नो तर्फबाट खर्च गरेको छैन। ममता ब्यानर्जीको स्वागतमा गीत गाइरहेका अनि नाचिरहेकाहरूले मुख्यमन्त्री यहाँ एक पर्यटकको रूपमा आएको अनि हामीबीच थप विभाजनको बीऊ छरेर फर्केको तथ्यमाथि ध्यान दिएर सोच्नु पर्ने आवश्यकता छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement