सकारात्मक सोंच राखेर काम गरेमा अवश्य पनि सफलता हासिल गर्न सकिन्छः शारदा गोले तामाङ
गान्तोक: तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा आज हिन्दु समुदायको महान पर्व तीन भव्यरूपमा पालन गरियो। नेपाली संस्कृति संरक्षण संघद्वारा आयोजित यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ गोले मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने विशिष्ट अतिथिमा क्षेत्र विधायक जीटी ढुङ्गेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि शारदा तामाङ गोलेले वर्तमान परिपेक्ष्यमा नारीहरू अघि बढेर आएको खण्डमा कसैले पनि रोक्न नसक्ने जानकारी गराइन्। यदि नारीहरूले इच्छा गरेमा कसलै पनि अधिनमा राख्न नसक्ने उनले मन्तव्य प्रकट गरिन्। आजका नारीहरू भनेको पौराणिककालको नभएर २१औं शताब्दीका हुन् यसर्थ अघि आएमा सबै काम गर्न सक्ने उनले जानकारी गराइन्। नारीहरूले सकारात्मक सोंच राखेर काम गरेमा अवश्य पनि सफलता हासिल गर्न सकिने उनले अवगत गराइन्। उनले प्रसङ्ग फेर्दै वर्तमान सरकारले नारीहरूको हितमा विभिन्न प्रकारको कल्याणकारी योजना लागु गरेको जानकारी गराउँदै यसले नारीहरूलाई धेरै लाभ पुग्ने किटान गरिन्। सरकारले आमा-बहिनी जस्तो योजना शुरू गरिसकेको र यस योजना अन्तर्गत प्रत्येक आमाहरूलाई प्रतिवर्ष २० हजारको दरले प्रदान गरिने जानकारी गराइन्। सोही प्रकारले उषा ढुङ्गेलले आमाहरूलाई आफ्नोबारेमा सोच्ने कहिले फुर्सद नहुने र केवल परिवारको हितमा सोचेर नै जिवन विताउने गरेको बताइन्। आज पालन गरिएको तीज पर्व विशेष गरेर विवाहित महिलाहरूको निम्ति रहेको बताउँदै आजको दिन विवाहित महिलाहरू आफ्नो माइतीघर एक दिनको निम्ति भएपनि जाने प्रचलन रहिआएको अवगत गराइन्। यस अवसरमा विभिन्न संघ संस्थाद्वारा नृत्य गायन प्रतियोगिता पनि आयोजना गरिएको थियो।