आञ्चलिक विशेषता बोकेको ‘दिई हाल भाउजु हाट’ अनि नारी सशक्तिकरण …

00-1-Gorubathan-3-copy

यस वर्ष १८ नोभेम्बर (सोमाबर) २०२४ मा  ‘दिई हाल भाउजु हाट’ आयोजना हुनेछ

कालेबुङ जिल्लाको खण्ड तीनअन्तर्गत पर्ने गोरूबथानका केही आञ्चलिक विशेषताहरू छन्। समुद्र  सतहदेखि ३२८ मिटरको उचाईंमा रहेको कछाड क्षेत्र गोरूबथानमा आउने नवागन्तुकहरूका निम्ति शुरुमा यहाँको बोली, तरिका अनि स्थानीय केही व्यवस्था नै अनौठो लाग्ने गर्दछ। देशभरि आइतबार सरकारी बिदा हुँदा गोरूबथानको मुख्य हाट सोमबारे बजारको कारण स्थानीय चियाबारी अनि केही विद्यालयहरूमा सोमबार बिदा गरिन्छ। चियाबारीको कारण यहाँ पन्ध्रको आइतबार, सोमबार भन्ने चलन छ (स्थानीय चियाबारीहरूमा १५ दिन अर्थात् दुइ हप्तामा खर्च दिने व्यवस्था छ।

यसैबाट शुरु भएको पन्ध्रको आइतबार, सोमबार)। यति मात्र होइन यहाँ ‘पैसा घुम्छ’ (बोली)। केही सामान किन्दा दोकानदारले फर्काउनुपर्ने रहल रुपियाँलाई यहाँ ‘पैसा घुम्छ’ भनिन्छ (युद्धवीर उमाविका पूर्वप्रधानाध्यपक स्व० आरबी राई पहिलो पल्ट गोरूबथान आउनु हुँदा सोमबारे बजारमा एकजना ‘भावी’को दोकानमा पान किन्दा सर तपाईको ‘पैसा घुम्छ’ भन्दा छक्क पर्नु भएको एक भेटमा बताउनु भएको सम्झना छ।)। त्यसरी नै दिउँसोको १२ बजेदेखिको उताको समय अपराह्नलाई यहाँ ‘उल्टी बेला’ भनिन्छ। यसबाहेक केही वर्षसम्म गोरूबथानमा भुटानको रूपियाँ पनि प्रचलनमा थियो (तर अहिले बन्द छ।)।

यस्तै छुट्टैपन तथा आञ्चलिक विशेषताहरूमध्ये प्रमुख हो ‘दिई हाल भाउजु हाट’। नेपाली, गोर्खा जातिको सांस्कृतिक चाड तिहारको अवसरमा देउसी सबै ठाउँमा खेलिन्छ। उक्त चाडमा मारूनी नृत्य गरिने परम्परा परपूर्वकालदेखि नै प्रचलनमा रहेको थियो। मारूनी नाच नेपाली समुदायको परम्परागत नृत्य भए तापनि यो नाचलाई जहिलो कहिले जहीँ तहीँ प्रदर्शन गर्न अनिष्ठ हुन्छ भन्ने विश्वास गरिन्छ। मारूनी नाच प्रदर्शन गर्ने समुदायमा दशैंको फुलपातीको दिन कालरात्रीको विशेष पूजाआजाको साथ नाचको आरम्भ गरिन्छ अथवा नाच बाँधिन्छ भने दशैं र तिहारको समयमा देउसी, भैलो खेल्दा मारूनी नाचको प्रदर्शन गरिन्छ। चाडपर्व सकिएपछि फेरि विशेष पुजा आर्चना गरेर नाच फुकुवा गरिन्छ अर्थात नाचको अन्त गरिन्छ। नाच फुकाइसकेपछि नाचमा प्रयोग गरिने मादल, खाँकर, मारूनीको लुगा, लाखेको खपर, लौरो आदि सबै सामान मन्दिरमा लुकाएर राख्ने चलन छ। मारूनी नाच नाच्ने र फुकाउने समयमा देवीको पुजा गरिने हुनाले यसलाई देवीको नाच पनि भनिन्छ।

तिहार पर्वको समयमा नाँचिने नेपाली, गोर्खा जातिको यही मारूनी नाचलाई गोरूबथानमा परपूर्वकालदेखि केही आफ्नोपन दिएर मनाउने गरेको पाइन्छ। भाइटीकोको दोस्रो सोमबार सोमबारे हाटको दिन मारूनी टोली हुलका हुल झरेर देउसी खेल्ने गर्छन्, जसलाई ‘दिई हाल भाउजु हाट’ भनेर चिनिन्छ। नेपाली गोर्खा समुदायका नारीहरू अन्य समुदायभन्दा केही स्वतन्त्रता स्वभावका हुन्छन्। उनीहरू घरको चुल्हासम्म मात्र सीमित हुँदैनन्। स्वतन्त्र मात्र नभएर परिवारको जिम्मेवारी बहन गर्ने पनि हुन्छन् उनीहरू। पहाडी खण्डमा हेर्यौ भने प्राय: हाट बजारहरूमा सब्जीलगायत अन्य व्यवसाय गर्ने नेपाली समुदायमा नारीहरूको सहभागिता बाक्लो देखिन्छ। दार्जीलिङको गुन्द्री बजार अनि कालेबुङको पुरानो हाट बजारको दस्ताबेजलगायत पुराना फोटोहरू हेरे प्रशस्त प्रमाण पाइन्छ। यही परम्परालाई आत्मसात गर्दै गोरूबथानको सोमबारे हाटमा पनि शुरूदेखि नै स्थानीय नारीहरूले नै हाटमा गाउँ, बस्तीका सागसब्जी लगायत अन्य सामानहरू बिक्री गर्ने गर्दथे। यसरी मारूनी टोली सोमबारे बजारमा देउसी खेल्दै दक्षिणा उठाउन दिई हाल भाउजु दिई हाल भन्दै ‘भाउजु’ अर्थात् हाटमा सामान बिक्री गर्ने नेपाली महिलाहरूलाई दक्षिणा माग्थे (भाउजु साइनो शब्द नेपाली जातिको पवित्र तथा सजिलो साइनो हो।)

दिई हाल भाउजु हाट वास्तवमा देउसी नै हो। गाउँ घरमा विधिपूर्वक मारूनी नाच बाँधिन्छ अर्थात शुरु गरिन्छ। त्यसपछि गाउँ घरमा मारूनी अनि देउसे टोली रात छर्लङ्ग पार्ने गरी घुम्ने गर्थे। त्यो समय अहिलेको जस्तो गाउँ घर बाक्लो थिएन। गाउँ घरमा देउसी खेलिसकेपछि देउसे, मारूनी टोलीहरू भाइटीकाको दोस्रो सोमबार सोमबारे बजारमा देउसी खेली रमाइलो गर्न झर्थे। सोमबारे बजार झरेपछि देउसी खेल्न अघि तिनीहरूले स्थानीय गणेश धारानजिक रहेको गणेश मन्दिर अनि सोमबारे बजारको दक्षिणमा रहेको सोमेश्वर मन्दिर (पहिलो ठाकुरबाडी मन्दिर भनिन्थ्यो।)  मा गएर विधिवत पूजाआजा गर्दथे। देवी देवताको भाकल गरेर विधिपूर्वक नाच पुन: उठाउँथे। मारूनी नाचको आरम्भमा ढोका खोल्ने गीत, मारूनी बाँध्ने गीत र देवी देवताहरूको प्रार्थना गीतहरू गाएर मारूनीलाई नचाइन्छ। सबैभन्दा पहिले देवी बाँध्ने गीत गाएर नाचको आरम्भ गर्ने परम्परा रहेको छ-

शरण तुमारी सेवै हमारी गाले अभर

एक मुखे रूद्राक्षे अघि ल्यायी गाले अभर

दालिम राजा, दालिम रानी शरण गाले अभर

मन्तरैले पूर्व बाँध्यो, पश्चिम बाँध्यो

चारै दिशा बाँधी ल्यायो।

चेल राजा, चेल रानी शरण तुमारे गाले अभर।

यसरी यहाँको ऐतिहासिक गढी दालिम (अन्तिम लेप्चा राजा ग्याबो आचुकको दरबार, जसको भग्नावशेष अहिले पनि छ। सोमबारे बजारदेखि करिब १२ किमी टाडामा अवस्थित छ। यो किल्ला अन्तिम लेप्चा राजा ग्याबो आचुकले निर्माण गरेका थिए। तिनी सबैभन्दा शक्तिशाली राजाहरूमध्ये एक थिए। भुटानी सेनाले धेरै पटक यस क्षेत्रमा आक्रमण गर्ने प्रयास गरे, तर राजा ग्याबो आचुकबाट तिनीहरू सधैं पराजित भए।  यस्तै एउटा भुटानी राजाले दमसाङ किल्लामा आक्रमण गर्दा लेप्चा राजाले यस किल्लामा शरण लिएका थिए। भुटानी राजाले शान्ति सन्धि गर्न लेप्चा राजाकहाँ राजदूत पठाए।  उक्त शान्ति सन्धि बैठक दलिम किल्लामा भएको थियो। यस बैठकमामा भुटानी राजाले ग्याबो आचुकलाई प्रशस्त मात्रामा रक्सी पिउन लगाएका थिए। राजा आचुक रक्सीको नशामा परेका बेला भुटानी राजाले उनको टाउको काटेर नजिकैको चेल नदीमा फ्याँके। त्यो टाउको चेल नदीको भूते दह भन्ने ठाउँमा पुग्यो भन्ने भनाइ छ। त्यसपछि दालिम फोर्ट भुटानी राजाको कब्जामा थियो। यो सन् १८६५ सम्म तिनीहरूको नियन्त्रणमा थियो। त्यसपछि ब्रिटिश ईस्ट इण्डिया कम्पनीले यो क्षेत्र कब्जा गर्यो।

‘कालेबुङ जिल्ला डिजास्टर म्यानेजमेन्टको रेकर्ड (पेज नम्बर ६९)मा गोरूबथानको सोमबारे बजार हाटको अस्तित्व सन् १९०५ मा आएको तथ्यांक छ’

सन् २०१८ मा, पश्चिम बंगालको हेरिटेज कमिशनले यसलाई हेरिटेजको रूपमा घोषणा गर्‍यो। यसको पुनोरुद्धार गर्ने कार्य भइरहेको छ।) को राजा, रानी, नजिकैको चेल खोला लगायत उत्तरतिरको पाँच पोखरी (नेउरा वन्य जन्तु संरक्षण क्षेत्रभित्र पर्ने प्राकृतिक पोखरी, पाँचवटा पोखरी भएकोले पाँच पोखरी नाम राखिएको हो। तर हालमा एउटा पोखरी मात्र अस्तित्वमा छ। यो प्राकृतिक पवित्र पोखरीमाथि स्थानीय मानिसहरूको आस्था छ। अम्बियोकदेखि ३ घण्टा जतिको पैदल दूरीमा रहेको यस ठाउँमा राम नवमीको दिन सर्वधर्म पुजा गरिन्छ। अन्य दिन पनि मानिसहरू पूजा गर्न, भाकल गर्न जाने गर्छन्।) आदिलाई सम्झिँदै बल बिन्ती माग्छन्। त्यसपछि टोली मारूनीको पहिरन लगाएर बजार परिक्रमा गर्छन्। मारूनी नाचमा एकाधिक मादलहरू हुन्छन्। त्यसमा एउटा मुख्य मादल हुन्छ जसलाई ‘गुरु मादल’ भनिन्छ। मादल मादलेहरूले कम्मरमा भिरेका हुन्छन्। मारूनी नाचमा प्रयोग गरिने मादल अन्य मादलभन्दा ठुलो र बलियो हुन्छ र नै यो मादल बजाउँदा बजार नै गुन्जयमान हुँदछ। त्यसरी नै पित्तल र काँसको मिश्रित धातुबाट बनाइएको खाँकर नामक अर्को मुख्य बाजा हुन्छ, जुन मारूनी, पुर्सिङ्गे (ढटुँवारे), मादलेहरूले नाच्दा खुट्टामा लगाउने गर्छन्। यसै गरी गायक टोलीले मुजुरा बजाउँछन्। मारूनीको रंगमा सिंगारिएको टोलीमध्ये मारूनी नाच्दै, पुर्सिङ्गे हसाउँदै, मादले मादल बजाउँदै अनि अन्य सदस्यहरू गीत गाउँदै हाट बजारमा हाट थाप्ने पुरुष, महिला सबैलाई ‘दिई हाल भाउजु दिई हाल’ भन्दै रमाइलो गर्छन्। दक्षिणा उठाउँछन् (दक्षिणामा रुपियाँसितै सामानहरू पनि दिन्थे।)। दिनभरि बजारमा रमाइलो गरिसकेपछि फेरि मन्दिरमा आएर विधिपूर्वक नाच फुकाउँछन्। मारूनी नाच समापन गरिँदा वस्त्र फुकाउने गीत गाइन्छ-

शिरैको शिरफूल खोलेर राख

हिजो थियौ जनाना आज मरद

आङको चोलिया खोलेर राख

हिजो थियौ जनाना आज मरद।

दशैं तिहारको समय मेला र रामलिलाको जमानामा गोरूबथानमा मनाइने दिई हाल भाउजु हाट हेर्न मधेशलगायत टाडा टाडाबाट मानिसहरू धुइँचो लाग्थे। मेलाकै रूपमा रहेको दिई हाल भाउजु हाट एक समय कतिसम्म लोकप्रिय थियो भने हाटमा नानीहरू हराउने गरेको स्थानीय बुडापाकाहरू बताउँछन्। नानीहरूलाई ‘दिई हाल भाउजु’ हाट घुमाउने लोभ देखाएर नानीहरूलाई आमाबाबाहरूले घरमा काम लगाउँथे। दिई हाल भाउजु हाटमा मादले, मारूनी टोली हुलका हुल आउँथे। गोरूबथान टार, राई गाउँ, गैरी गाउँ, अम्बियोक, मिशनहिल, नीमबस्ती, फागुलगायत डुवर्सको दालिम कोट, पत्थरझोडा, मेटली, सामसिङ, थालझोडाबाट समेत उक्त दिन मारूनी, देउसे टोली आउने गरेको अवकाशप्राप्त शिक्षक गोविन्द परियार बताउँछन्। अत्याधित लोकप्रियताको कारण दिई हाल भाउजु हाटको दिन ‘फर्दी गोट्टी’ नामक जुवा खेला हुन्थ्यो। त्यो जुवा खेलाउन भुटान, नेपाल अनि डुवर्सका केही ठाउँहरूबाट मानिसहरू आउने गरेको परियार थप बताउँछन्। त्यो समय १० देखि १२ झुण्डसम्म जुवाको अड्डा हुन्थ्यो। बुकी (जुवा खेल्दा पैसा उठाउने) हरू

आऊ आऊ तकदीर अजमाऊ,

क्या देख रहे खडा खडा

फर्दी गोटी बडाबडा,

चिडिया, भोटे, पाना

तकदीर अजमाके जानाभन्दै कराउँथे।

आञ्चलिक विशेषता बोकेको दिई हाल भाउजु हाट कहिलेदेखि शरु भयो भन्ने विषय अहिलेसम्म अडकलबाजीमै सीमित रहेको छ। सन् १९१९ मा जन्मिएका गोरूबथानका श्रीपेच तथा नेपाली साहित्यका शताब्दी पुरुष हायमनदास राई किरातअनुसार आफूहरू केटाकेटी हुँदैदेखि नै गोरूबथानमा दिई हाल भाउजु हाट प्रचलनमा थियो। अर्कोतिर कालेबुङ जिल्ला डिजास्टर म्यानेजमेन्टको रेकर्ड (पेज नम्बर ६९)मा गोरूबथानको सोमबारे बजार हाटको अस्तित्व सन् १९०५ मा आएको तथ्यांक छ। यी दुइ तथ्यलाई मनन गरेर हेर्नु हो भने सोमबारे बजारमा दिई हाल भाउजु हाटको प्रचलन १० देखि २० को दशकबाट शुरु भएको अनुमान गर्न सकिन्छ। यदि सोमबारे हाट सन् १९०५ देखि अस्तित्वमा आएको हो भने अस्तित्वमा आउनसाथ दिई हाल भाउजु हाट शुरु भएको होइन। त्यसरी नै किरात केटाकेटी हुँदा नै यस हाट लोकप्रिय भइसकेको थियो भने सन् १९१९ अर्थात किरात जन्मिएको समयमै दिई हाल भाउजु हाट प्रचलनमा थियो। किन भने त्यो जमाना अहिलेको जस्तो प्रचार प्रसार छिटो हुने समय थिएन। कछुवा चालको जमानामा कुनै पनि विषय चर्चित हुनु, लोकप्रिय हुनु समय लाग्छ। तसर्थ, माथिका दुइ तथ्यलाई हेर्दा गोरूबथानको आञ्चलिक विशेषता बोकेको दिई हाल भाउजु हाट १९१० देखि १९२० भित्रमा अस्तित्वमा आएको अनुमान गर्न सकिन्छ। दिई हाल भाउजु हाट कुन झुण्डाले शुरु गर्यो भन्ने कुरा पनि रहस्यै रहेको छ। आफ्नो समयमा यो हाट कतिसम्म लोकप्रिय थियो भने दिई हाल भाउजु हाटको निम्ति ‘दुइ आना’ लिएर रमाइलो गर्न झर्थे अवकाशप्राप्त शिक्षक विलियम फिपन। त्यो समय सोमबारे बजारमा मारूनी, मादले, देउसेहरूले धुलो उडाउँदै रमाइलो गर्थे। मादलको ताल र घन्काइले हाट बजार नै थर्किन्थ्यो। सम्झना गर्दै फिपन भन्छन्- तर अहिले न त पहिलाको जस्तो रमाइलो छ न रौनकता नै।

उद्भिद र संस्कृति जमिनमै मौलिन्छ, माटोमै रमाउँछ। तर जब उद्भिदलाई गमला अनि संस्कृतिलाई मंचमा सारिन्छ तब यसले आफ्नो नैसर्गिकता बिर्सन्छ, मौलिकता हराउँदछ।। संस्कृतिलाई विकासको नयाँपन दिनभन्दा यसलाई संरक्षण गर्न आवश्यक छ। भव्यता र सजावटको नाममा उद्भिद र संस्कृतिलाई बोनसाइ गर्नु हुँदैन। गोरूबथानको सोमबारे बजारमा वर्षमा एकपटक लाग्ने ‘दिई हाल भाउजु हाट’ नारी सशक्तीकरणको बेजोड उदाहरण पनि हो। घरको चार दिवारभित्र सीमित रहेका महिलाहरू यसरी बाहिर निस्किएर परिवारकै आर्थिक सहयोगको निम्ति मूल खाँबो बन्नु लरतरो होइन। यस्ता उदाहरण विरलै देख्न पाइन्छ। नारी सशक्तीकरणको वकालत गर्ने संघ संस्था अनि सरकारको निम्ति गोरूबथानका महिलाहरू ज्वलन्त उदाहरण हुन्। छुट्टै आञ्चलिक विशेषता बोकेको यस पर्वको जगेरा गर्न स्थानीय सचेत जमात अघि आएर काम गरिरहेको छ। प्रत्येक वर्ष यस पर्वलाई परम्परागत रूपमा पालन गर्ने ध्याउन्नमा लागेको छ उक्त जमात।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement