सिलगढी: विवाहको प्रलोभन देखाएर थुप्रै पल्ट शारीरिक सम्बन्ध बनाएको आरोपमा एकजना व्यक्तिलाई महिला थाना पुलिसले पक्राउ गरेको छ। आरोपीको नाम नूरशाद आलम (२१) हो। उनी प्रधान नगर थाना अन्तर्गत देवीडांगा क्षेत्रमा बस्ने बताइएको छ। लगभग डेढ वर्ष अघि उनको एकजना २५ वर्षीया युवतीसँग भेट भएपछि प्रेम सम्बन्ध शुरु भएको थियो। प्रेम सम्बन्धको आडमा नूरशाद आलमले युवतीसँग विवाह गर्ने प्रलोभन देखाएर थुप्रै पल्ट शारीरिक सम्बन्ध बनाएको आरोप रहेको छ।युवतीले विवाह गर्नका लागि दबाउ दिँदा नूरशाद आलमले युवतीलाई घरमा बोलाएर उसलाई कुटपिट गरेको आरोप रहेको छ। यसपछि युवतीले हिजो महिला थानामा प्रेमीले विवाहको सपना देखाएर शारीरिक सम्बन्ध गर्नको साथै कुटपिट गरेको आरोपमा लिखित अभियोग दर्ता गरिन्। उक्त अभियोगको केही घण्टामा नै महिला थाना पुलिसले घटनाको जाँच गर्दै आरोपी युवक नूरशाद आलमलाई देवीडांगास्थित उसको घरबाट पक्राउ गर्यो।