खरसाङ: खरसाङमा हुन गईरहेको खरसाङ विन्टर रन २०२४ लाई लिएर आज खरसाङ महकुमा शासकको पहलमा खरसाङको डाउहिल स्कूलको कार्यालयमा विशेष सभा सम्पन्न भएको छ। उक्त सभामा खरसाङको महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपक, वन विभागको रेञ्जर अफिसर सम्बर्दा साधु, खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पा, खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङ, समाजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राई, खरसाङ एथलेटिक क्लबकी सचिव प्रीति राई लगायत खरसाङ डाउहिल, चिमनी देवराली क्षेत्रका होम स्टे सञ्चालकहरू उपस्थित रहेका थिए। उक्त सभाको मुख्य उद्देश्य आगामी 8 दिसम्बरमा हुन लागेको खरसाङ विन्टर रन २०२४ मा टाड़ा टाड़ाबाट आएका सहभागी धावकहरूलाई विभिन्न होम स्टेहरूमा कम मूल्यमा बस्ने व्यवस्था गरिने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। खरसाङमा पहिलोपल्ट दिगो पर्यटनको उद्देश्यको साथमा १० किलोमीटरको खरसाङ विन्टर रन २०२४ आयोजना भईरहेको छ। आजको सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिमा एक खरसाङ एथलेटिक क्लबकी सचिव प्रीति राईले खरसाङ विन्टर रन २०२४ लाई आज खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकको पहलमा सभा बसिएको अनि उक्त सभामा टाड़ा टाड़ाबाट आएका धावकहरूलाई बस्ने व्यवस्था गर्न साथै डाउहिल, चिमनी देवराली क्षेत्रका होम स्टेहरूमा केही छुटको साथमा राखिदिने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएकी छन्। होम स्टे सञ्चालकहरूले यस कुरालाई मानिलिएको भन्दै उनले सबैप्रति आयोजक समितिको पक्षबाट आभार प्रकट गरिन्।