बंग्लादेशविरुद्ध तेस्रो वनडे र सीरीज दुवै जित्यो अफगानिस्तानले

IMG-20241112-WA0134

शारजाह: अफगानिस्तानले आफ्नो उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै बंग्लादेशलाई तेस्रो तथा अन्तिम वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ५ विकेटले पराजित गऱ्यो। यस जीतको साथै अफगानिस्तानले बंग्लादेशविरुद्ध ३ वटा म्याचको वनडे सीरीज पनि २-१-ले जित्यो। यो अफगानिस्तानको लगातार तेस्रो वनडे सीरीज जीत हो। यसअघि उनीहरूले दक्षिण अफ्रिकालाई २-१-ले अनि आयरल्याण्डलाई २-०-ले पराजित गरेको थियो। शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै बंग्लादेशले ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन बनायो। शीर्ष क्रमको निराशाजनक प्रदर्शनले गर्दा बंग्लादेशले एक समय ७२ रनमा ४ विकेट गुमाइसकेको थियो। त्यहाँबाट छैटौं नम्बरमा ओर्लिने अनुभवी महमुदुल्लाहले उत्कृष्ट ब्याटिंग गर्दै टीमलाई असल स्कोरसम्म पुऱ्याए। महमुदुल्लाहले कप्तान मेहदी हसन मिराजबाट असल साथ पाए। यी दुईजनाले पाँचौं विकेटको निम्ति १४५ रनको पार्टनरशीप गरे। मिराजले ११९ बल खेलेर ४ वटा चौकाको साथ ६६ रन बनाए। मिराज आउट भएपछि महमुदुल्लाहले तल्लो क्रमका खेलाड़ीहरूसँग खेल्दै स्कोर २४४ रनसम्म पुऱ्याए। मुहमुदुल्लाह ईनिंग्सको अन्तिम बलमा दुर्भाग्यजनक तरिकाले रनआउट भए। उनले ९८ बलमा ९८ रन बनाए। यसमा ७ वटा चौका र ३ वटा छक्का रहेको छ। अफगानिस्तानका बलरहरूमा अजमतुल्लाह ओमारजाईले सर्वाधिक ४ विकेट लिए। जवाफमा अफगानिस्तानले ४८.२ ओभरमा ५ विकेटमा २४६ रन बनाएर म्याच जित्यो। अफगानिस्तानको यस जीतमा ओपनर रहमानुल्लाह गुरबाजको महत्त्वपूर्ण योगदान रह्यो, जसले १२० बल खेलेर १०१ रन बनाए। उनले ७ वटा छक्का र ५ वटा चौका लगाए। वनडे इण्टरनेशनलमा २२ वर्षीय यो गुरबाजको रेकर्ड आठौं शतक हो। गुरबाजलाई छोड़ेर अजमतुल्लाह ओमारजाईले अविजित ७० रन बनाए। उनले ७७ बल खेलेर ५ वटा छक्का र ३ वटा चौका लगाए। गुरबाज र ओमारजाईले चौथो विकेटको निम्ति १०० रनको पार्टनरशीप गरी बंग्लादेशको मनोबललाई माटोमा मिलाए। गुरबाज आउट भएपछि ओमारजाई र मोहम्मद नबीले मिलेर टीमलाई सजिलै जीत दिलाए। नबीले २७ बल खेलेर अविजित ३४ रन बनाए। यसमा ५ वटा चौका सामेल छ। ४ विकेट र अविजित ७० रनको निम्ति ओमारजाईलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement