गान्तोक: भारतमा फ्रान्सका राजदूत थियरी माथौले आज यहाँको जीएमसी वेलनेश पार्कको भ्रमण गरे। यस अवसरमा उनलाई गान्तोक नगर निगमको पक्षमा उपमेयर छिरिङ पाल्देन भोटियाले स्वागत जनाइन्। यस अवसरमा राजदूतकी धर्मपत्नी साथै फ्रान्सेली प्रतिनिधि मण्डलका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
पछि उपमेयरसँग कुराकानी गर्दै राजदूत माथौले फ्रान्स र भारत अनि विशेष गरेर सिक्किम राज्यको सम्बन्धमाथि जोर दिए। यस सम्बन्धमा उनले प्रसिद्ध फ्रान्सेली अन्वेषक, अध्यात्मवादी र लेखक लेडी अलेक्जान्ड्रा डेभिड-नीलको प्रसङ्ग पनि निकाले। जसले वर्ष १९१२मा बौद्ध धर्मको अध्ययनमार्फत फ्रान्स र सिक्किमबीच विशेष सम्बन्ध स्थापना गरेकी थिइन्। यस अवसरमा जीएमसी-का म्यूनिसिपल कमिश्नर आरबी भण्डारीले गान्तोक शहरमा ठोस फोहर र ट्राफिकको प्रवन्धन, शिक्षा, पिउने पानीको व्यवस्था आदि बारे फ्रेन्सेली राजदूतलाई जानकारी गराए।










