‘अन्तर्वार्ताभित्र रमेश प्रधान ‘बादल’को लोकार्पण

IMG-20241111-WA0228

सिलगढी: ९ नोभेम्बरको दिन सिलगढी नेपाली साहित्य प्रचार समिति दुर्गागढी, सिलगढीद्वारा शहीद दुर्गा मल्ल भवन, जन कल्याण संगठन, सिलगढीको प्रेक्षागृहमा आयोजित भव्य कार्यक्रममा कृति ‘अन्तर्वार्ताभित्र रमेश प्रधान ‘बादल’’ पुस्तक लोकार्पण भयो। यस कृतिका अन्तर्वार्ताकार हरिश मोक्तान ‘अल्लारे’ हुन् भने सम्पादक हुन् वरिष्ठ साहित्यकार साहित्यकार युवराज काफ्ले। वरिष्ठ साहित्यकार लोकनाथ चापागाईंको प्रमुख आतिथ्य अनि युवराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरूमा हरिश मोक्तान ‘अल्लारे’, डा कृष्णराज घतानी, डा पुनम सुब्बा, माया प्रधान, मीमलाल सापकोटा, सीताराम काफ्ले, अमर बानियाँ ‘लोहोरो’, जी के शर्मा भट्टराई, गणेश प्रधान आदि उपस्थित थिए।

लोकार्पण कार्यक्रममा सरस्वती वन्दना अनि दीप प्रज्ज्वलन गरेपछि सिलगढी नेपाली साहित्य प्रचार समितिका सह-सचिव शरद छेत्रीले स्वागत भाषण राखे। उल्लेखनीय छ, सिक्किमका रमेश प्रधान ‘बादल’ले नेपाली भाषा आन्दोलनको आदिकालमा नेपाली भाषाको संवैधानिक स्वीकृतिको औचित्य बुझाउँदै सिक्किममा भित्राएका थिए। अखिल भारतीय नेपाली भाषा समितिका पदाधिकारीहरू सिक्किममा गएर सभा गरेपश्चात् सिक्किम राज्य शाखाको पनि गठन भएपछि संस्थापक सचिव रमेश प्रधान ‘बादल’ चयन भए। यो शाखा गठनमा उनकै ठूलो भूमिका रहेको थियो। हिमालयन सांगीतिक संघ गान्तोक अनि उद्विकास कला प्रतिष्ठान गान्तोकका संस्थापक हुन्। कार्यक्रममा रमेश प्रधानले आफ्नो वक्तव्य राख्दै तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी साथै सांसद दिलकुमारी भण्डारीका साथ सहयोग, सुझाव प्रशस्त पाएरै उक्त माग अघि बढ़्न सक्यो भनेर कृतज्ञता प्रकट गरे। ज्ञात रहोस्, भाषा आन्दोलनको केन्द्रिय समितिले सिक्किम राज्य शाखा गठन गरेपश्चात् रमेश प्रधान सचिव अनि डी पी  राई अध्यक्ष रहेर पनि दिलकुमारी भण्डारीलाई संरक्षिका बनाइएको थियो भन्ने उनले जानकारी दिए।

लोकार्पण कार्यक्रममा उनले भने, ‘हामीले धेरै दुःख गरेर पाएको भाषा मान्यता हो, यसैले भाषाको प्रयोग गरौं, सहुलियतहरू के के छन् खोजौं।’ उनले ‘आदिकवि भानुभक्त आचार्य’ नामक डकुमेन्ट्री फिल्म सिक्किममा छँदै निर्माण गरेका थिए। हाल उनी सिलगढीमा उपचाराधीन छन्। आफ्नो यो कृति सिक्किममा पनि लोकार्पण गर्ने इच्छा रहेको बताए। कार्यक्रम कवि तथा समाजसेवी देविका मंग्राती राईले संचालन  गरेकी थिइन् भने उनैले पुस्तक समीक्षा पनि गरेकी थिइन्। त्यसरी नै, अमर बानिँया ‘लोहोरो’-द्वारा सिर्जना वाचन भयो अनि डा. कृष्णराज घतानी, डी के शर्मा, हरिश मोक्तान अल्लारे (अन्तर्वार्ताकार), सीताराम काफ्ले आदिले वक्तव्य राखे। प्रायः सबैले भाषाको महत्त्व, भाषा-मान्यता, नेपाली भाषाको संरक्षण, मातृभाषाको उद्भव र विकासबारे विस्तृत मन्तव्य  र गहकिला कुराहरू राखे। हरिश मोक्तान ‘अल्लारे’ले रमेश प्रधान ‘बादल’को भाषा मान्यताप्रतिको प्रेम, उत्सर्ग, लगन आदिको सराहना गरे।

प्रमुख अतिथिको वक्तव्यपश्चात् सभाका अध्यक्ष युवराज काफ्लेले आफ्नो वक्तव्यमा भने,  ‘नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्ति पाउनुपर्छ भन्ने दावी राजनीति हुन्छ भन्ने जनमानसको सोचाइ हुँदाहुँदै पनि सिक्किम राज्यमा भाषा मागको अभियान औपचारिकरूपमा भित्रिनुमा रमेश प्रधान ‘बादल’को ठूलो भूमिका रहेको छ। दार्जीलिङबाट साहित्यकार र नेपाली/गोर्खा जातिका चिन्तक अनि भाषा संग्रामीहरू सिक्किम पुगेर भाषाको औचित्य बुझाउन सभा राख्ने उद्देश्यलाई रमेश प्रधान ‘बादल’ले आयोजना नगरेका भए भाषा मान्यताको दिशामा कामकुराहरू अघाड़ि बढ़्ने थिएनन्, यसैले उनको सहभागिता र सेवा हामीले भुल्नु हुँदैन।’ कार्यक्रममा सिक्किम, कालेबुङ, खरसाङ अनि सिलगढीका विभिन्न स्थानहरूबाट धेरै विज्ञ व्यक्तित्वहरू, साहित्यकार, समाजसेवी, पत्रकार र चित्रकारहरू उपस्थित थिए। धन्यवाद ज्ञापन समितिका कार्यकारी सदस्य, पूर्व सचिव खेम सापकोटाले राखेका थिए। साहित्यका विविध विधाहरूमध्ये अन्तर्वार्ता विधामा परेको यो कृति पठन, मननयोग्य रहेको छ, यसलाई पाठकहरूले अवश्यै रुचाउनेछन् भन्दै उनले सबैलाई उपस्थितिको निम्ति धन्यवाद दिएपश्चात् अध्यक्षले कार्यक्रम समाप्तिको घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement