खरसाङमा मुख्यमन्त्रीलाई भव्य स्वागत
खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको आज दार्जिलिङ पहाड़ आगमन भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई आज पहाड़ आई पुग्नसाथ मानिसहरू लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र हिल तृणमूल कंग्रेसको कार्यकर्ताहरूले भव्य स्वागत जनाएका थिए। मुख्यमन्त्री ममता ब्यानर्जी खरसाङ आईपुग्दा अपरान्ह ४ बजेको थियो। मुख्यमन्त्रीको स्वागतमा दिउँसो १ बजेदेखि नै कार्यकर्ताहरू खरसाङको मोटर स्ट्याण्डमा उपस्थित रहेका थिए। मुख्यमन्त्रीलाई स्वागत जनाउन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय प्रमुख सल्लाहकार गोपाल लामा लगायत सभासदहरू अनि पार्टी कार्यकर्ताहरू र विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। मुख्यमन्त्री खरसाङ आईपुग्दा जीटीए प्रमुख कार्यपाल अनित थापा अनि गोपाल लामाले स्वागत जनाएका थिए। मुख्यमन्त्रीले खरसाङमा गाडीभित्रबाट नै सबैको अभिवादन स्वीकार गरेका थिए। खरसाङमा मुख्यमन्त्री ममता ब्यानर्जी आईपुग्दा ‘ममता ब्यानर्जी जिन्दावाद, अनित थापा जिन्दावाद’ जस्ता नाराहरू लगाएका थिए। राज्यकी मुख्यमन्त्री खरसाङ आईपुग्न अघि नै जीटीए प्रमुख अनित थापा मोटर स्ट्याण्डमा उपस्थित रहेका थिए। मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत जनाउन विभिन्न विकास बोर्डका प्रतिनिधिहरू खरसाङको रोहिणी जिरोमा उपस्थित रहेका थिए भने
हिल तृणमूल कंग्रेसको प्रतिनिधिहरू खरसाङको टुरिस्ट लजमा स्वागत जनाउन उपस्थित रहेका थिए। त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरू, सभासदहरू र कार्यकर्ताहरू पार्टी अध्यक्ष अनित थापाको नेतृत्वमा खरसाङ बजारको मोटर स्ट्याण्डमा उपस्थित रहेका थिए।जीटीए प्रमुख अनित थापा मुख्यमन्त्री ममता ब्यानर्जीसितै खरसाङबाट दार्जिलिङ गएका छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज पहाड़ आएर भोलि मंगलबार दार्जिलिङमा जीटीएसित प्रशासनिक बैठक बस्ने तथा विभिन्न विकास बोर्डहरूका चेयरम्यानहरूसित बैठक बस्ने र बुधवार दिउँसो दार्जीलिङको चौरास्तामा सरस मेलाको उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। मुख्यमन्त्री ममता ब्यानर्जी बिहीबार १४ नोभेम्बरको दिन दार्जीलिङ पहाड़बाट फर्किने जानकारी प्राप्त भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहाड़ आएको बेला पहाड़को विभिन्न विकास कार्यहरूको घोषणा हुनसक्ने आशा गरिएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङ पहाड़ आएपछि पहाड़को राजनीति गर्माएको छ भने विभिन्न विकास परियोजनाहरूको घोषणा हुन सक्ने अड़कलबाजी शुरु भएको छ।










