साहित्य सिर्जनाको आधार भनेको नै लोकवार्ता हो: कवि टाशी छोपेल

पाकिम: कवि तथा पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले साहित्य सिर्जनाको आधार भनेको नै लोकवार्ता रहेको बताउँदै साहित्य अकादमी नयाँ दिल्लीले आयोजन गरेको ग्रामालोक कार्यक्रमले हराउन लागेका लोक वार्तालाई पुनर्जागरणको बाटो देखाइदिएको बताए। मुख्यअतिथिको सम्बोधन राख्दै जिल्लापाल छोपेलले साहित्य अकादमी नयाँ दिल्ली र बियाड़ युवा साहित्यिक संस्थानको संयुक्त आयोजनामा गरिएको यो कार्यक्रममा लोपोन्मुख बालन, सङ्गिनी, शिलोक तथा खाँड़ो जगाउने लोक वार्ताको माध्यमलाई प्रत्यक्ष प्रस्तुत गरेर यसलाई संरक्षण गर्न र धेरैमा पुऱ्याउनुपर्ने आवश्यकता बोध गराएको बताए। उनले यस्ता साहित्यका आधार लोक संस्कृति र लोक जनजीवनसित जोड़िएका कुराहरूको दस्तावेजीकरण हुन आवश्यक रहेको बताए। पूर्वी र पाश्चात्य साहित्यको आधार पनि लोक कथा, लोक गीतहरूनै रहेको उदाहरण प्रस्तुत गर्दै ग्रामालोक कार्यक्रमले लोकवार्तालाई मञ्च दिएर सबैलाई अभिप्रेरित गरेको बताए। उनले आफ्नो प्रशासनिक क्षेत्रमा रहेको साहित्यिक र कलाको गतिविधिलाई अघि बढ़ाउन सिक्किमको ‘चिया कविता’-को साथमा पाठशालाहरूमा साहित्यिक कार्यक्रमहरू आरम्भ गरिसकेको बताए। यस अघि सन्त जेभियर्स पाठशालामा चिया कवितासित कार्यक्रम भइसकेको र आउँदो दिनमा डिक्लिङ र आसाम लिङ्गजे उच्चतर माध्यमिक विद्यालयमा कार्यक्रमको तयारी भइरहेको अवगत गराउँदै ग्रामालोक कार्यक्रममा सहभागी हुने विद्यार्थी र साहित्यकारहरूलाई पनि सहभागिताको आह्वान गरे।
सामुदायिक भवन पाक्योङमा आयोजित ग्रामालोक कार्यक्रममा बियाड़ युवा साहित्यिक संस्थानसित जोड़िएका विभिन्न गाउँका लोक कलाकार तथा लोकवार्ता अभ्यास गर्नेहरूको टोलीले रङ्गारङ प्रस्तुति दिएका थिए। यस अतिरिक्त बियाड़ युवा साहित्यिक संस्थानद्वारा प्रकाशित दुईवटा पुस्तक अलख नारायण दङ्गालको ‘कृषकको पीड़ा’ र टिकाराम दाहालको ‘रहर’ कविता संग्रह लोकार्पण गरियो। यस अवसरमा साहित्य अकादमी नेपाली भाषा परामर्ष समितिका अध्यक्ष डा. जीवन नामदुङको ‘अभिनन्दन ग्रान्थ’ विमोचन गरियो। कार्यक्रममा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका सदस्य तथा सिक्किमको मुख्यमन्त्रीका सचिव शङ्करदेव ढकालले ग्रामालोक कार्यक्रमबारे जानकारी दिँदै आफ्नो सम्बोधनमा गाउँ गाउँमा यस्ता कार्यक्रम गर्नु परे आफुसित सम्पर्क गर्नसक्ने आह्वान गरे। उनले लोक जनजीवन र लोक साहित्यको अझै धेरै अध्ययन अनि प्रचार प्रसार हुनुपर्ने कुरामा जोड़ गरे।
यसैगरी कार्यक्रममा डा. जीवन नाम्दुङ अभिनन्दन ग्रन्थका सम्पादक डा. जीवन राणाले आफ्नो सम्बोधन राख्दै सिक्किममा यो कार्यक्रम आयोजन भएकोमा आभार प्रकट गर्दै अभिनन्दन ग्रन्थ बारे संक्षिप्त जानकारी दिए। कार्यक्रमका विशिष्ट अतिथि गणेश प्रधानले पनि छोटो सम्बोधन राखेका थिए। कार्यक्रममा लोक साहित्य बाहेक स्थानीय कविहरूले कविता तथा गजल प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement