अब भागोप्रमोको पूर्ण बहुमत
गोरूबथान: आज सिलगढीको पिन्टेल भिलेजमा आयोजित एक भेटघाट कार्यक्रममा गोरुबथान खण्ड पञ्चायत समितिका तीनजना निर्दलीय सदस्यहरु ४३ नम्बर समष्टि जोन २ का करुणा छेत्री साथै ४५ नम्बर समष्टिका एमु गुरुङ लगायत लालमाया छेत्री भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा पुनः सामेल भएका छन्। उनीहरू पार्टी अध्यक्ष अनित थापाको उपस्थितिमा पार्टीमा सामेल भएका हुन्।

समर्थन कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्ति केन्द्रीय समितिका अध्यक्ष अनु छेत्री, कालेबुङ जिल्ला समिति अध्यक्ष विनय घिसिङ, गोरुबथान खण्ड पञ्चायत समितिका सभापति र सहकारी सभापति सुर्यमणि राई अनि सोनाम भोटिया, ४३ नम्बर समष्टिका कार्यकारी सभासद रतन थापा, गोरुबथान १ ग्राम पञ्चायत, निम ग्राम पञ्चायत र पोख्रेबुङ ग्राम पञ्चायतका प्रधान क्रमैले निमा तामाङ, नङसल डोमा लामा, टिकाराम घले साथै अन्य पञ्चायत समिति सदस्य, ग्राम पञ्चायतका निर्वाचित सदश्य साथै अन्य पार्टीका नेतृत्वगण उपस्थित रहेका थिए।

स्मरण रहोस, गोरूबथान पञ्चायत समिति पक्ष अनि विपक्ष दुवैका समान अनुपातमा सदस्य रहेकाे पञ्चायत समिति हो। चिठ्ठा उडाएर बोर्ड गठन गरिएको थियो, जहाँ भागोप्रमोको पक्षमा चिठ्ठा परेको थियो। केही दिन अघि अनि आजको सामेलको कारण अब गोरूबथान खण्ड पञ्चायत समितिमा भागोप्रमोको बहुमत रहेको छ।









