खरसाङ: उडिसा राज्यको राजधानी भुवनेश्वरमा तीन दिवसीय राष्ट्रिय बहुभाषिक कवि सम्मेलन समापन भएको छ। प्रयास नामक साहित्यिक संस्थानद्वारा आयोजित यस भव्य कार्यक्रमको उद्घाटन भुवनेश्वरको वर्तमान सांसद भूतपूर्व आई ए एस अधिकारी अपराजिता सादङगीले गरेकी थिइन। हिन्दी, नेपाली, संस्कृत, तामिल, बङ्गला, अङ्ग्रेजी, सम्बलपुरी, आसामी, झारखण्डी, तेलेगु, गुजराती, खुदुख आदि भाषाका दुइसय भन्दा धेरै श्रष्टाहरूको भव्य समागम रहेको राष्ट्रिय युवा कवि भेलामा, भारतीय नेपाली कवितालाई प्रतिनिधित्व गर्दै, सिक्किमबाट कवि/कलाकार दीपा राई, प्रथम नेपाल कविता आइडलकी विजयी निलम गुरुङ, कलकत्ताबाट कवि सन्जिव गुरुङ र मिरिकबाट कवि सिद्धान्त राई, प्रयासको निम्तोमा भुवनेश्वर पुगेका थिए। भुवनेश्वरको बुद्ध मन्दिर, न्यु अडिटोरियम, मधुसूदन मार्गमा ८ देखि १० नोभेम्बरसम्म चलेको राष्ट्रिय युवा कवि समारोहमा दुई सयभन्दा धेरै कविहरूले आफ्ना रचना वाचन गरेका थिए। भारतीय नेपाली कवितालाई प्रतिनिधित्व गर्दै सिक्किमकी छोरी निलम गुरुङले आफ्ना कविता वाचन गरेर, सबैलाई मन्त्रमुग्ध पारिन्। उपस्थित सम्पूर्ण प्रतिनिधि अनि दर्शकले उनलाई सम्मान जनाउँदै बसेको ठाउँबाट उठेर सबैले करतल ध्वनिले सम्मान गरे। यस समारोहमा दुईवटा विषयहरू क्रमशः ‘आइडेंटिटी क्राइसिस ऑफ रीजनल राइटर्स'(Identity Crisis of Regional Writers) अनि ‘दी पर्सपेक्ट डिस्कोर्स ऑन वूमेन इन इंडियन लिटरेचर(The prospect discourse on woman in Indian literature). यस कार्यक्रमको महत्त्वपूर्ण पक्ष प्रयासले भारतीय साहित्यका १५ देखि २० वटा भाषाका पुस्तकहरूको अनुवाद गरी यसै कार्यक्रममा विमोचन पनि गरिएको थियोे।










