मालबजार – बानरहाट थाना अन्तर्गत पर्ने केलाबारीमा आगामी भानुजयन्तीबारे एउटा चर्चा परिचर्चा सभा सम्पन्न भयो। उक्त सभाको अध्यक्षतामा शिक्षक नबिन पौड्यालले गरेका थिए। सभामा यस वर्ष २०८ औँ भानुजयन्ती डुवर्सव्यापी रुपमा सम्पन्न गराउने निर्णय लिइयो। बानरहाट मखमली समाज साथै डुवर्स नेपाली साहित्य विकास समितिको संयुक्त आयोजनामा हुने उक्त भानु जयन्ती सफल तुल्याउन कोलाबारीका जागरुक युवा समाज अघि आएको छ। प्रथमचोटी यस ठाउँमा यस प्रकारको कार्यक्रम हुन गइरहेको शिक्षक तथा सभाका अध्यक्ष नविन पौड्यालले बताएका छन्।
सभामा डुवर्स नेपाली साहित्य विकास समिति अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, मूलसचिव रविन खवास , कोषाध्यक्ष राजेश प्रधान, बानरहाट मखमली समाजका अध्यक्ष तथा चेङ्गमारी हिन्दी हाई स्कूलका प्रधान अध्यापक कुमार छेत्री, शिक्षक रतन मगर , शिक्षक अमीर सुब्बा , मूर्तिकार कृपेन्द्र गुरुङ , समाजसेवी दिलीप यल्मो, पत्रकार शनि तामाङ स्याङबो लगायत स्थानीय मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो। सभाले अभ्यर्थना समितिको पनि गठन गरेको छ र यसै समितिले आगामी कार्यक्रम आयोजन गर्नेछ। जसमा सभापति अमरनाथ छेत्री, सचिव पृथ्वीराज छेत्री, कोषाध्यक्षमा जीवन छेत्रीलाई चयन गरिएको छ भनी बानरहाट मखमली समाजका अध्यक्ष कुमार छेत्रीले जानकारी गराएका छन् ।