खरसाङमा सुदर्शन प्रधान ‘अम्बटे’को दशौं कृति ‘छासमिस-मासमिस’ लोकार्पित

IMG-20241110-WA0170

खरसाङ: साहित्यकार सुदर्शन प्रधान अम्बटेको दशौं कृति ‘छासमिस-मासमिस’ खरसाङको एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। भारतीय नेपाली साहित्यमा लगातार रूपमा हाँस्य ब्यंग्य र बाल साहित्यमा कलम चलाउँदै आएका सुदर्शन प्रधान ‘अम्बटे’ को दशौं कति विविध लेखहरूको संकलन छासमिस-मासमिस खरसाङको गोर्खा जनपुस्ताकालयको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भएको छ। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या आशा मुखिया लामाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा देविका खवास उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकार अमर दुङमाली, गोर्खा जनपुस्ताकालय खरसाङको उपाध्यक्ष प्रकाश प्रधान, पण्डित तुलसीप्रसाद अधिकारी, फुर्बा घिसिङ लगायत अन्यहरू उपस्थित रहेका थिए।.

साहित्यकार ऋषि राईले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण प्रसाई प्रकाशनको पक्षबाट सुष्मा छेत्रीले राखेकी थिइन्। अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत नृत्य विज्ञानी थापाले प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा विभिन्न स्थानहरूबाट आएका कवि साहित्यकारहरूले रचना पठन गरेका थिए। यस क्रममा शम्भु राई, उषाकिरण सत्यदर्शी, रचना अनाकार, अजम प्रधान, निलम गिरी, जिनर घतानी, निरङ्कर थापा, सञ्जीव छेत्री, सुवास छेत्री ‘भावुक’, अमीत सुब्बा ‘विकल्प’, जनम राई कमाने, मिलन प्रधान आदिले कविता, गजल, कथा आदि वाचन गरेका थिए। यसै कार्यक्रममा सुदर्शन अम्बटेकृत दशौं कृति “छासमिस-मासमिस सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ठ अतिथिहरूका बाहुलीबाट लोकार्पण गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै रचनाकार सुदर्शन प्रधान अम्बटेले उपस्थित सबैलाई धन्यवाद दिएका छन्। उनले आफ्नो कृतिमा रहेका रचनाहरू पठन गरेर सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट प्रतिक्रिया दिने निवेदन गरेका छन्। यसको साथै उनले पुस्तकभित्र रहेका रचनाहरू विषयमा जानकारी गराउँदै सबैले आफ्नो लोकार्पित पुस्तक अध्ययन गरिदिने पनि अनुरोध गरेका छन्। कार्यक्रममा प्रमुख अतिथि देविका खवासले सुदर्शन प्रधान अम्बटेको हाँस्य ब्यंग्य धेरै उत्कृष्ट रहेको र हाँस्य ब्यंग्य निरन्तर रूपमा लेखिरहने निवेदन गरकी छन्। उनले अम्बटेको हाँस्य ब्यंग्यले दु:ख कष्टमा परेकाहरू र समस्यामा परेकाहरूका लागि राम्रो हुने भएकोले लेखन कार्य निरन्तर रहनु पर्ने सुझाव राखेका छन्। कार्यक्रममा सभाध्यक्ष वरिष्ठ नारी स्रष्टा आशा मुखिया लामाले सुदर्शन प्रधान अम्बटेको हाँस्य ब्यंग्य उच्च कोटीको हुने गरेको र उनी भारतीय नेपाली साहित्यको स्थापित साहित्यकार रहेको बताएकी छन्। सभाध्यक्ष आशा मुखिया लामाले वर्तमान समयमा विभिन्न स्थानहरूमा नेपाली साहित्यमा कृतिहरू निरन्तर रूपमा प्रकाशित भईरहेका भनी बताउँदै कृतिहरू लगातार रूपमा प्रकाशित भईरहेको भए पनि पाठकहरूको कमी रहेको बताउँदै अब हामीले नेपाली साहित्यमा पाठक बढ़ाउन आवश्यक रहेको बताएकी छन्। उनले साहित्यमा पाठकहरू बढ़ाउन अब नयाँ पिँढीहरूलाई जिम्मा लगाउनु पर्ने र अब यो कार्यको लागि युवा पिँढीलाई कार्य सुम्पनु पर्ने अनि युवा पिँढीलाई वरिष्ठहरूले साथ, सहयोग र उत्साह दिनु पर्ने बताएकी छन्।

कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आफ्ने लोकार्पित कृति विषयमा साहित्यकार सुदर्शन प्रधान अम्बटेले आफु मूलत: हाँस्य ब्यंग्य लेख्ने भए पनि यो दशौं कृति सत्य घटनामा आधारित विविध लेखहरूको संकलन रहेको बताएका छन्। उनले टाड़ा नजिकबाट आएका साहित्यकारहरूलाई उपस्थितिको लागि धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement