गान्तोक: सिङतामस्थित बरदाङमा सञ्चालित एडभान्स टेक्निकल ट्रेनिङ सेन्टर (एटीटीसी)ले रजत जयन्ती भव्यरूपमा पालन गऱ्यो। गत ६-९ नोबेम्बरसम्म पालन गरिएको रजत जयन्तीको समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने शिक्षा मन्त्री राजु बस्नेत र क्षेत्र विधायक एलबी दास विशिष्ट अतिथिकोरूपमा रहेका थिए।द
यस अवसरमा मुख्यमन्त्री तामाङले एटीटीसी परिसरमा निर्मित अनुसूचित जाति र जनजाति विद्यार्थीहरूको निम्ति निर्मित छात्राबास र इन्क्यूवेसन सेलको उदघाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि तामाङले सर्वप्रथम एटीटीसीले संघर्ष गर्दै २५ वसन्त पुरा गर्न सफल बनेकोमा सम्पूर्ण शिक्षकवर्ग साथै विद्यार्थीवर्गलाई बधाई एवम शुभकामना दिए। यस कलेजमा हाल ७०-८० प्रतिशत स्थानीय विद्यार्थीहरूले अध्ययन गर्ने अवसर प्राप्त गरेको बताए। तर पूर्व सरकारको कार्यकालमा यस कलेजमा राज्य बाहिरका अधिक विद्यार्थीहरू रहेको र स्थानीय विद्यार्थीहरू कम संख्यामा अध्ययन गर्ने अवसर पाउने गरेको अवगत गराए। उनले विशेष गरेर विद्यार्थीहरूलाई इङ्गित गर्दै यो २१औं शताव्दीमा हामी आफ्नो परम्परा, भाषाको संरक्षण गर्दै विद्यार्थीहरू अपडेट हुनु पर्ने आग्रह गरे। यदि समयसँग चल्न नसकेको खण्डमा वर्तमान परिपेक्ष्यमा विद्यार्थीहरू पछि पर्न सक्ने कुरालाई ध्यान दिनु पर्ने सुझाउ दिए। देशको कुनै पनि राज्यमा सिक्किम राज्यमा जस्तो सुविधा विद्यार्थी साथै आम नागरिकले पाउन नसकेको उनले किटान गरे। यहाँ मन्त्री,विधायक साथै मुख्यमन्त्रीलाई भेटन सबैलाई पाउन सकेको र उनीहरूको गुनासोलाई सम्बोधन गर्न सम्वन्धित निकाय सदैव तत्पर रहने गरेको बताए। तर देशको अन्य राज्यका मन्त्री र विधायकलाई भेटन पनि फलामको चिउरा चपाउनु बराबर हुने गरेको जानकारी गराए। आर्थिक अवस्था कमीको कारण कुनै पनि विद्यार्थीहरूले आफ्नो सपना तुहाउन नपरेको र सरकारको तर्फबाट सबै प्रकारको सहयोग विद्यार्थी साथै आम नागिरकलाई प्रदान गर्न वर्तमान सरकार सक्षम रहेको उनले दावी गरे। राज्यका विद्यार्थीहरूले यहाँको परिस्थिति र वातावरणको लाभ उठाउन सक्नुपर्ने उनले आग्रह गरे। सबै विद्यार्थीहरू पढिसकेपछि सरकारी नौकरी गर्ने चाहना राख्ने गर्दछन्, तर सरकारले सबैलाई स्थायी नौकरी दिन सक्दैन्, यसर्थ विद्यार्थीहरूले सरकारी नौकरीको निम्ति चाहना नराखेर व्यवसाय गर्दै मालिक बन्छु भन्ने सोंच राख्नु पर्ने आग्रह गरे। अब विद्यार्थीहरूले आफ्नो मानसिक सोचाइँमा केही परिवर्तन गर्नुपर्ने समयको माग रहेको उनले आफ्नो सम्बोधनमा उल्लेख गरे। अब राज्य सरकारले मुख्यमन्त्री एमएसएमई योजना शुरू गर्ने र यस योजना अन्तर्गत उद्यामी बन्न चाहने युवाहरूको लागि तत्काल तीन लाखसम्म प्रदान गर्ने प्रावधान बनाउने मुख्यमन्त्रीले आजको यस कार्यक्रममा घोषणा गरे। उनले थप जानकारी गराए अनुसार राज्य सरकारले सबै योजनाहरूको राज्यवासीको हितमा तयार गर्छ तर यदि उक्त योजनालाई कार्य़ान्वयन गर्नमा राज्यबासीले सहयोग नगरेको खण्डमा राज्य सरकारको सबै योजना विफल रहने बताउँदै यसर्थ सरकारले बनाएको योजना सफतापूर्वक सम्पन्न गराउनको निम्ति राज्यवासीको पनि योगदान हुनु पर्ने अवगत गराए। यी सबै कुराहरूलाई ध्यानमा राख्दै वर्तमान सरकारले राज्यमा शुरू गरेको योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्नको निम्ति टीम वार्क हुनुपर्ने विषयलाई प्राथमिकता दिएको बताए। एसकेएम पार्टीको सरकार गठन भएपछि यता विभिन्न प्रकारको संकटको घडी आएको बताउँदै उनले उदाहरणकोरूपमा वर्ष २०२०-२१ कोरोनाकालले सरकारलाई कुनै पनि कामहरू गर्न नदिएको बताए। यसरी नै गत वर्षको ४ अक्टोबरमा आएको विनाशकारी बाढले राज्यलाई धेरै क्षति पुऱ्याउनको साथै राज्य सरकारलाई अघिले चरणको कामहरू गर्नबाट वञ्चित गरेको जानकारी गराए। यसरी वर्तमान सरकारले विभिन्न प्रकारको बाधा अढचन सहदै भएपछि राज्यलाई विकासको मार्गमा अघि बढाउन कुनै प्रकारको कसर नछोडेको उनले किटान गरे। केही वर्षदेखि राजधानीमा ट्राफिक जामको समस्यालाई समाधानको निम्ति सरकारले अड इभन नियम शुरू गरेको छ, तर यसमाथि पनि राज्यका केही विपक्षी दलहरू वर्तमान सरकार ट्राफिक जाम समस्यादेखि भाग्ने कोशिष गरिरहेको आरोप लगाएको बताए। उनले थप जानकारी गराए अनुसार राज्यमा योजनाविना सडकको छेउछाउमा घर निर्माण गरियो, जसको कारण सरकारले सडक विस्तार गर्न असमर्थ बनेको छ। अब सडक किनारमा निर्माणधीन घरहरू भत्काउन पनि सकिन्दैन्, किने भने यी सबै कुराहरू पहिलाको सरकारको कार्यकालमा नै भएको हो। राज्यमा प्रति महिना चार सय भन्दा अधिक वाहनहरू मोटर भेहिकल डिभीजनमा पञ्जीकृत हुने गरेको र वर्षमा चार हजार वाहन पञ्जीकृत हुँदै आएको हुनाले ट्राफिक जामको समस्या दिन प्रतिदिन वृद्धि हुँदै गएको उनको भनाइ रहेको छ। उनले प्रसङ्ग फेर्दै अहिलेको कम्प्युटरको यूगमा आर्टिफिसियल इन्टेलिजेन्सले काम गर्दै आएको हुनाले मानिसहरूको खाँचो केही कम हुन गएको जानकारी गराए। तर मानिसहरू एआइको दास बन्न नहुने र सकेसम्म एआइलाई दासी बनाउन सक्नु पर्ने विचार लिएर काम गर्नुपर्ने सुझाउ दिए।
वर्तमान सरकारले भोकल फर लोकल- को नारालाई प्राथमिकता दिँदै स्थानीयहरूलाई ठेकाको काम दिएको तर उक्त काम बिक्री गरेको घटनाले आफूलाई दुखित तुल्याएको बताए। यसरी स्थानीय वेरोजगार युवाहरूलाई जीवनयापन गर्नको निम्ति सरकारले दिएको ठेकाको काम बिक्री गर्ने प्रचलन बन्द गर्नुपर्ने उनले युवाहरूलाई आग्रह गरे। आजको यस कार्यक्रममा मुख्यमन्त्री तामाङले एटीटीसीमा स्मार्ट क्लास शुरू गर्नको निम्ति मुख्यमन्त्री विवेकाधीन कोषबाट २० लाख प्रदान गर्ने घोषणा गरे। यसरी नै उक्त कलेजका प्राचार्य सोनम पाल्देन बरफुङपाले राखेका विभिन्न मागहरूलाई पनि प्राथमिकता दिएर आगामी दिनमा यसलाई पुरा गर्न आश्वासन दिए।
यसै अवसरमा मन्त्री राजु बस्नेले आफ्नो सम्बोधनमा यस कलेजले छोटो समयको कोर्स शुरू गरेर युवाहरूलाई नयाँ दिशा दिनु पर्ने आग्रह गरे। उनको भनाइ अनुसार ६ महिनासम्मको कोर्स पुरा गरेपछि युवाहरूले केही काम गर्न सक्ने र वेरोजगार नहुने दावी गरे। राज्यमा वेरोजगार समस्या समाधान गर्नको निम्ति छोटो कोर्स शुरू गर्नुपर्ने समयको माग रहेको बताए।

यस अवसरमा एटीटीसीका प्राचार्य सोनम पाल्देन बरफुङपाले पनि सम्बोधन गरेका थिए।