गोरुबथान (महेश्वर प्रधान): प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हात महान हुन् भन्ने उक्तिलाई आत्मसात गरेर गोरुबथान फाफरखेरीको एक गैरसरकारी संस्था लाइफलाइन सोसियल अर्गानाइजेसन निस्वार्थ कार्य गरिरहेका छन्। अभेक गाउँघरका बिरामीहरुलाई अस्पतालमा पुर्याउनु, अन्य धेरै सामाजिक कार्यहरुमा संलग्न रही कार्य गरिरहेका यस संस्थाको सदस्यगणले यसपल्ट दुइजना बिरामीहरुको लागि आर्थिक संग्रह गरिदिएका छन्।

सदस्यगणले सोमबारे बजारमा सोमबारको दिन, स्वतन्त्रता दिवसको दिन, फुटबल फाइनलको दिन बिरामीको निम्ति आर्थिक संग्रह गरे। आज सम्पुर्ण संग्रहित कम दुइजना बिरामीलाई संस्थाका सदस्यगणको उपस्थितिमा प्रदान गरे। मृगौला रोगले ग्रस्त तथा उपचारधीन अवस्थामा रहेको दिपेश थापालाई बीस हजार तीन सय पचास रुपियाँ र खड्ग बहादुर श्रेष्ठलाई पाँच हजार रुपियाँ प्रदान गरिदिए।