पाकिस्तानको क्वेटामा भएको विस्फोटमा २२ जनाको मृत्यु

00-1-Pakistan

इस्लामाबाद: पाकिस्तानको बलुचिस्तानको क्वेटा रेलवे स्टेशनमा शनिबार बिहान ठूलो विस्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बिहान ९ बजे पेशावरका लागि छुटेको जफर एक्सप्रेस ट्रेनमा चढ्न यात्रुहरू प्लेटफर्ममा जम्मा भइरहेका बेला विस्फोट भएको हो। विष्फोट पाकिस्तानी सैनिकलाई लक्षित गरी गरिएको थियो। विस्फोटको सीसीटीभी फुटेज पनि बाहिर आएको छ। बलुचिस्तानको स्वतन्त्रताका लागि लडाकु आन्दोलन गरिरहेको बलुच लिबरेशन आर्मी (बीएलए) को माजिद ब्रिगेडले आक्रमणको जिम्मेवारी लिएको छ। आतंकवादी समूहले क्वेटाको रेलवे स्टेशनमा सैन्य कर्मचारीहरूलाई लक्षित गरी आत्मघाती बम विष्फोट गराएको बताएको छ। खोरासान डायरीले क्वेटाका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘सुरक्षाकर्मीहरू बसिरहेको जफर एक्सप्रेसको प्रतिक्षा क्षेत्रमा आत्मघाती हमलाकारीले आफूलाई विस्फोट गराउँदा विस्फोट भएको हो। विस्फोटमा धेरै सर्वसाधारणको पनि मृत्यु भएको छ।‘ बम विष्फोटपछि तत्कालै सुरक्षा र उद्धार टोली घटनास्थलमा पुगेर कारबाही शुरु गर्यो। मृतक र घाइतेहरूलाई सिभिल अस्पताल क्वेटा लगिएको छ। घाइतेको संख्या बढ्दै गएपछि अस्पतालमा आपतकालीन अवस्था घोषणा गर्नुपरेको थियो। संकटको सामना गर्न बाहिरबाट डाक्टर र प्यारामेडिकहरूसहित थप चिकित्सा कर्मचारीहरू बोलाइयो। सञ्चारमाध्यमहरूको समाचार अनुसार सिभिल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले पीडितमा महिला र बालबालिका समेत रहेको बताएका छन्  एसएसपी अपरेशन मोहम्मद बलोचले विस्फोटको समयमा प्लेटफर्ममा ठूलो संख्यामा यात्रुहरू उपस्थित रहेको बताए। बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले आक्रमणको निन्दा गर्दै जिम्मेवार आतङ्ककारीहरूलाई नछोडिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement