एफआईएच पुरस्कारहरूमा कप्तान हरमनप्रीत र गोलकीपर श्रीजेश सामेल

IMG-20241109-WA0189

नयाँ दिल्ली: भारतीय हकी टीमका कप्तान हरमनप्रीत सिंहलाई शुक्रवार अन्तर्राष्ट्रिय हकी फेडरेशन (एफआईएच)-ले साल २०२३-२४-को निम्ति सर्वश्रेष्ठ पुरुष खेलाड़ी चयन गऱ्यो। यसरी पीआर श्रीजेशलाई २०२३-२४ सीजनको निम्ति सर्वश्रेष्ठ पुरुष गोलकीपर चयन गरियो। भारतीय कप्तान हरमनप्रीतले पेरिस ओलम्पिकमा क्वार्टर र सेमिफाइनलको गोलसहित जम्मा १० गोल गरेका थिए। भारतले पेरिस ओलम्पिकमा स्पेनलाई पराजित गरी लगातार दोस्रो काँस्य पदक जितेको थियो। भारतले काँस्य पदकको प्लेअफ्-मा स्पेनलाई २-१-ले पराजित गरेको थियो। भारतले यसअघि टोक्यो ओलम्पिकमा पनि ४१ सालको लामो प्रतीक्षापछि पदक (काँस्य) जितेको थियो। त्यस समय पनि हरमनप्रीतले असल प्रदर्शन गरेका थिए। हरमनप्रीतले यसअघि २०२०-२१ र २०२१-२२-मा पनि दुईपल्ट एफआईएच प्लेयर अव् द ईयरको पुरस्कार जितेका थिए। यसपाली उनी तेस्रोपल्ट यस पुरस्कारले सम्मानित भएका छन्। यसपाली चाहिँ उनले कप्तानको रूपमा यस सम्मानलाई हासिल गरेका छन्।
यसरी भारतका दिग्गज गोलकीपर श्रीजेशले पेरिस ओलम्पिकमा पदक जितेपछि अन्तर्राष्ट्रिय हकीबाट बिदा लिएका थिए। श्रीजेशले आफ्नो करियरमा ३३६ वटा अन्तर्राष्ट्रिय म्याच खेले। पेरिसमा ३६ वर्षीय गोलकीपर श्रीजेश आफ्नो चौथो ओलम्पिक खेल्न ओर्लिएका थिए अनि उनले काँस्य पदकको साथ आफ्नो यात्रा समापन गरे। उनी लगातार दुईवटा ओलम्पिक पदक जित्ने भारतीय पुरुष हकी टीमको सदस्य रहे। उनको कप्तानीमा भारतले २०१६-को रियो ओलम्पिकमा हिस्सा लिएको थियो अनि टीम आठौं स्थानमा रहेको थियो। त्यसपछि चाहिँ उनको उपस्थितिमा भारतीय टीमले टोक्यो अनि पेरिस ओलम्पिकमा लगातार दुईवटा काँस्य पदक जित्यो। श्रीजेशलाई २०२१-मा खेल रत्नले सम्मानित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement