खरसाङ: बन्द लङ्भ्यू चिया कमान आगामी सोमबारदेखि खोलिने भएको छ। यसबारे जानकारी गराउन आज यहाँको केराबारीस्थित शहीद वेदी परिसरमा भागोप्रमो अनि गोरामुमोको संयुक्त आयोजनामा तथा मनोज लामाको सभापतित्वमा एक सभा आयोजना गरियो। पञ्चायत समिति सदस्य मौसम लामाद्वारा सञ्चालित सभामा क्षेत्रीय सभासद कल्पना प्रधान, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, गोरामुमो खरसाङ ब्राञ्च अध्यक्ष निमा लामा, एचपीडब्ल्युयुको सचिव बिरेन्द्र छेत्री, खरसाङ पञ्चायत समिति सभापति अनु प्रधान, भागोप्रमो युवा शक्ति खरसाङ महकुमा कार्यकारिणी सचिव अनुप गदाल, भागोप्रमो पंखाबारी, लङभ्यू अम्बटे समष्टि सचिव ललित प्रधान लगायत स्थानीय पञ्चायत सदस्यहरू तथा दुवै पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा वक्ताहरूले लङ्भ्यू चियाबारीको माहौललाई समाप्त गर्न केही ट्रेड युनियनहरूले षडयन्त्र गरे तापनि त्यो विफल भएको जनाउँदै आज यी दुइ ट्रेड युनियनको प्रयासमा लङ्भ्यू चिया बगान आगामी सोमबारदेखि खोलिन लागेको बताए। उनीहरूले श्रमिकहरूको रहल बोनस पनि सबै हालिसकेको अवगत गराउँदै अब सोमबारदेखि सबै आफ्नो काममा निस्किने जनाए। सभालाई दिपक लामा, भिमराज थिङ, मणिराज डुम्जन, बिरेन्द्र छेत्री अनि सभासद कल्पना प्रधानले सम्बोधन गरेका थिए।