गान्तोक: सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण र स्विस एजेन्सी फर् डेभलपमेन्ट एण्ड कोअपरेशनले उत्तर सिक्किमका साउथ ल्होनाक लेक र शाको छु लेकको सफलतापूर्वक अध्ययन भ्रमण अभियान पूरा गरेको छ।यसै वर्ष गत १९ अक्टोबरमा शुरू भएको उक्त अभियान ५ नोभेम्बरसम्म चलेको थियो।भूराजस्व एवं आपदा प्रबन्धन विभागकी सचिव एवं राहत आयुक्त नम्रता थापाले आज एक पत्रकार सम्मेलनमा यस अभियान अवधि उत्तर सिक्किमको लाचेन, लाचुङ र पश्चिम सिक्किमका १६ संवेदनशील झीलहरू मध्ये ९ झीलको जॉंच गरेको जानकारी गराइन्। स्विस डेभलपमेन्ट कोअपरेशन, एनडीएमए, एसएसडीएमए र स्थानीय प्राधिकारणहरूले स्थानीय मानिसहरूलाई उपकरणहरू प्रयोग गर्न र जडान गरिएका निगरानी केन्द्रहरूको मर्मतसम्भार गर्न प्रशिक्षण दिइरहेको बताइन्।साउथ ल्होनाक र साको छु लेकको अचानक बाढीपछि न्यूनीकरण उपायहरू विकास भइरहेको बताइएको छ। विज्ञान एवं प्रौद्योगिकी विभागका सचिव डा. सन्दीप ताम्बेले सिक्किमका ३२० हिमनदी तालहरूको अध्ययनबारे जानकारी गराउॅंदै यस मध्ये ३०४ हिमनदी ताल सामान्य रहेको र १६ ताललाई भने उन्नत परीक्षणको आवश्यकता रहेको बताए। उनले बाँधको स्थायित्व र पानीका च्यानलहरू निर्माण लगायत पानीको स्तर र प्राकृतिक प्रकोपबाट हुने जोखिम व्यवस्थापन गर्ने रणनीतिहरू छलफल गरिएको बताए।