सिलगढी: आज उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागमा विभागद्वारा संचालित गरिँदै आएको विशेष वार्ता कार्यक्रमअन्तर्गत वरिष्ठ साहित्यकारद्वय सी.के. श्रेष्ठ र के.एन. शर्माले साहित्यिक वार्ता प्रस्तुत गरे। भारत सरकारको शिक्षा मन्त्रालयअन्तर्गत उच्चतर शिक्षा विभाग अधिनस्थ वैज्ञानिक तथा तकनिकी शब्दावली आयोग र उत्तर बङ्ग विश्वविद्यालय, नेपाली विभागको संयुक्त आयोजनमा त्रिभाषा मूलभूत जनसञ्चार शब्दावली (अंग्रेजी-हिन्दी-नेपाली) लेखनबारे भएको पाँच दिवसीय (२२- २६ अगस्त २०२२) कार्यशालाको समापनपछिप्रो मोहन पी दाहालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पत्रकार श्रीमती अनुराधा शर्मा उपस्थित थिइन्। अन्य अतिथिमा डा. शरद सिन्हा (अध्यक्ष, कम्प्युटर विज्ञान विभाग) र नेपाली विभागका प्राध्यपकगण प्रो घनश्याम नेपाल, प्रो. सञ्जय राई, डा. पुष्कर पराजुली, डा. डपछिरिङ लेप्चा र श्रीमती कृष्णमाया मगरको विशेष उपस्थित रहेको थियो।
विभागीय अध्यक्ष प्रो. सञ्जय राईद्वारासञ्चालित कार्यक्रममा के.एन. शर्माले ‘नेपाली भाषा साहित्यको विकास तथा वर्तमान स्थिति’ अनि सी.के. श्रेष्ठले ‘भारतीय नेपाली नाटक तथा रङ्गमञ्चको वर्तमान स्थिति’बारे वार्ता प्रस्तुत गरेका थिए। सी.के. श्रेष्ठले आफ्नो वक्तव्यमा ‘नाटक जीवन हो र यो पृष्ठ र मञ्च दुवैमा सफल हुनु पर्छ’ भने। उनले समसामयिक सामाजिक समस्या र राष्ट्रिय मूल धाराको जीवनलाई लक्ष्य गरेर लेखिएको ‘मनै त हो नि’ शीर्षक कविता वाचन गरे जसअन्तर्गत उनले दर्शकका रूपमा बसेका विद्यार्थीवर्गलाई पनि वाचन गर्न उत्साहित तथा संलग्न गराए।दर्शकका निम्ति कविता वाचन र श्रवणको यस्तो अनौठो सङ्गम अनि अनुभव एकबिरलाकोटीअवसर थियो।प्रो मोहन पी दाहालको अध्यक्षीय मन्तव्यपछि समाप्त भएको कार्यक्रममा धन्यवाद ज्ञापनडा पुष्कर पराजुली राखेका थिए। विभागको संगोष्ठी कक्षमा सम्पन्न भएको यस कार्यक्रममा नेपाली विभागका विद्यार्थी अनि शोधार्थीवर्गको उपस्थिति रहेको थियो।









