अप्पर मामरिङ प्राथमिक पाठशाला बने प्रथम
खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभाग अन्तर्गत खरसाङ क्षेत्रको आयोजनामा आज खरसाङमा प्रथम अन्तर प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तरी (हाजिरी जवाब) प्रतियोगिता सम्पन्न भएको छ। प्राथमिक पाठशालाहरूका नानीहरूलाई पुस्तकीय ज्ञानबाहेक विभिन्न ज्ञानहरू दिनलाई साथै विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरूमा सक्रिय रूपमा अघि बढाउन उक्त प्रकारका कार्यक्रमहरू आयोजना गरिएको छ। खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजित उक्त प्रतियोगितामा खरसाङ क्षेत्रका जम्मा ३० वटा प्राथमिक पाठशालाहरूले सहभागिता जनाएका थिए जसमा पहिलो चरणमा प्रतियोगिता गराएर फाईनल राउण्डमा छवटा प्राथमिक पाठशालाहरू चयन गरिएको थियो। उक्त प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तरी प्रतियोगितामा क्लिज मास्टरको रूपमा शिक्षकद्वय मोहन रूम्बा र निमेश राई रहेका थिए। दुवैले प्रतियोगितालाई सञ्चालन गरेका थिए। त्यसरी नै कार्यक्रमलाई शिक्षिका पासाङ लक्की शेर्पाले सञ्चालन गरेका थिए। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास, सभासद श्याम शेर्पा, खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष वाङ्दी लामा, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, सिटोङ दुई ग्राम पञ्चायतको प्रधान समीर कार्की, एसआई अविनाश शर्मा र एआई सृष्टि गोम्देन लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त प्रतियोगिताको फाइनल राउण्डमा प्रथम अप्पर मामरिङ प्राथमिक पाठशाला, दोस्रो नेताजी प्राथमिक पाठशाला घैयाबारी र तेस्रो सन्त अल्फन्सेस प्राथमिक पाठशाला भएका छन्। त्यसरी नै यस प्रतियोगितामा दुधे प्राथमिक पाठशाला, स्कट मिशन प्राथमिक पाठशाला र ज्योत्सनामयी जुनियर बेसिक प्राथमिक पाठशाला आदिले पनि फाईनलमा स्थान बनाएका थिए।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने प्राथमिक पाठशालाका नानीहरूलाई अतिथिहरूको बाहुलीबाट प्रमाण पत्रसहित पारितोषिक वितरण गरियो। यस प्रतियोगिताको फाइनलमा प्रथम हुने अप्पर मामरिङ प्राथमिक पाठशालाको तीनजना नानीहरूलाई खरसाङबाट दार्जिलिङमा हुने जीटीए स्तरीय प्रतियोगितामा पठाइने भएको छ। कार्यक्रमलाई प्रमुख अतिथि खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले सम्बोधन गर्दै शिक्षा क्षेत्रमा प्राथमिक पाठशालाको नानीहरूलाई पनि अघि बढाएर लानुपर्छ र पुस्तकीय शिक्षाबाहेक पनि यस्ता विभिन्न क्रिया-कलापहरूमा नानीहरूलाई सक्रिय रूपमा सहभागिता बनाएर अघि बढ़ाउनुपर्छ भनी बताएका छन्। उनले यस्तो प्रकारको क्विज (हाजिरी जवाब) प्रतियोगिता सदैव आयोजना गरिनु पर्ने कुरामा जोड़ दिन्दै यस्ता प्रतियोगितामूलक कार्यक्रमतिर नानीहरूको सक्रिय सहभागिताको लागि शिक्षक शिक्षिकाहरूले मुख्य भूमिका निर्वाह गर्नु पर्ने बताएका छन्। उनले यस कार्यक्रमको सराहना गरेका छन्।

कार्यक्रममा धन्यवाद ज्ञापन एआई सृष्टि गोम्देनले राखेका थिए। यस प्रतियोगितामूलक कार्यक्रममा जीटीएको प्राथमिक शिक्षा विभाग अन्तर्गत खरसाङ क्षेत्रका विभिन्न प्राथमिक पाठशालाका शिक्षक- शिक्षिकाहरूको विशेष उपस्थिति रहेको थियो। यस प्रतियोगिता विषयमा पत्रकारहरूसित कुराकानी गर्दै एसआई अविनाश शर्माले खरसाङ सर्कल क्षेत्रका 30 वटा प्राथमिक पाठशालाहरूलाई लिएर यो प्रतियोगिता आयोजना गरिएको र यसमा पहिलो चरणबाट छनौट भएर छवटा प्राथमिक पाठशालाहरू फाइनलको लागि चयन गरिएको जानकारी गराएका छन्। उनले यस प्रतियोगितामा प्रथम भएका अप्पर मामरिङ प्राथमिक पाठशालाका नानीहरूलाई दार्जिलिङमा हुने जीटीए स्तरीय प्रतियोगितामा खरसाङ क्षेत्रको प्रतिनिधित्व गर्दै पठाइने पनि जानकारी गराएका छन्।