गान्तोक: राज्य सरकारका श्रम विभागका अतिरिक्त सचिवसॅंग सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-का एक प्रतिनिधि टोलीले भेट गरेर याददस्त पत्र चढाएको छ। यस याददस्त पत्रमा सङ्गठित र असङ्गठित निजी क्षेत्रमा कार्यरत नारी श्रमिकहरूलाई एक वर्षको प्रसुति विदा सरकारले अनिवार्य रूपमा दिलाउनु पर्छ भन्ने माग राखिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार, एसडीएफ पार्टीले सिक्किमेलीलाई चौतर्फी विकासके यात्रामा संलग्न गराएर सम्हाली ल्याएको सिक्किमको सुगम अवस्थालाई वर्तमान सरकारले निरन्तरता दिन सकेको छैन। त्यसको दुष्परिणाम स्वरूप सिक्किमका खटिखाने वर्गमा अहिले विभेदकारी नीति जतातै लागू भइरहेको छ। त्यसमध्ये निजी क्षेत्रमा नारी श्रमजीवी वर्गलाई सरकारले प्रदान गर्ने सुविधाबाट वञ्चित गरिँदैछ। सिक्किमका हरेक खटिखाने वर्गका हकमा न्याय पुऱ्याउन सत्तामा अथवा सत्ता बाहिरा एसडीएफ डटिरहने छ भनी बताइएको छ।
अतिरिक्त सचिवले उक्त मागलाई सकारात्मक रूपमा लिँदै सरकारसमक्ष सो माग तुरुन्तै पेश गरिदिने वचन दिएको बताइएको छ। याददस्त पत्र चढाउने टोलीमा एसडीएफ पार्टीका मजदूर मोर्चा उपाध्यक्ष जेबी दर्नाललगायत प्रचार-प्रसार मामिला उपाध्यक्षद्वया कृष्ण खरेल र अम्बर राई तथा सुशिल राई रहेका थिए।