खरसाङ: आज श्रमिक भवनमा डाकेको संयुक्त बैठकमा बहुमत ट्रेड युनियनको सहमतिमा बन्द रहेको लङभ्यू कमान आगामी ११ नोभेम्बरदेखि खोलिने भएको छ। जानकारी अनुसार मालिक पक्षले रहल ६ प्रतिशत बोनस श्रमिकहरूको खातामा हाल्न शुरु गरिसकेको छ। ६ प्रतिशत बोनस आगामी 9 नोभेम्बरसम्ममा श्रमिकहरूको खातामा जमा गरिने सम्झौता गरिएको छ। गत १४ अक्टोबरदेखि खरसाङको लङभ्यू चियाबारी बन्द रहेको थियो। बन्द रहनुको कारण अनुशासनहीनता अनि दैनिक कार्यमा हस्तक्षेप देखाइएको थियो। समस्यालाई सुल्झाउन २३ अक्टोबरकाे दिन बैठक राखिएको थियो। तर त्यस बैठक असफल रहेको थियो। आज डाकिएको बैठकमा बगान खोलिने निर्णयमा उपस्थित बहुमत ट्रेड युनियनहरूले सहमति दिएको थियो। अनशनको नेतृत्व गरिरहेको हिल प्लान्टेशन इम्प्लोइज युनियनको प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर नगरेको जानकारी प्राप्त भएको छ। आज भएको बैठकमा भाग लिनेहरु हिमालयन प्लान्टेसन वर्कर्स युनियन, दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन, हिल्स तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियन, तृणमूल चाय बगान श्रमिक युनियन अनि हिल प्लान्टेशन एम्प्लोइस युनियनका प्रतिनिधिहरू रहेका थिए।