ताप्तलेजुङ: प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरामा केवलकार बनाउन दिनुपर्ने र बनाउन दिन नहुने पक्षबीच शुक्रबार दिउँसो दोहोरो झडप हुँदा प्रहरीसहित ६ जना घाइते भएका छन्।
दुई पक्षबीच ढुंगा हानाहान हुँदा सशस्त्र प्रहरीका इन्स्पेक्टर सहित ६ जना घाइते भएका छन्। घाइते हुने सुरक्षाकर्मीमा सशस्त्रका इन्स्पेक्टर डिकेन्द्र ओली र नेपाल प्रहरीका सहायक हवल्दार अभिनास माझी रहेका छन्। ढुंगाले लागेर ओलीको घुँडामुनि सामान्य चोट लागेको छ। माझीको दाहिने हातमा सामान्य चोट लागेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
त्यस्तै, अन्य घाइतेहरुमा केवलकार बनाउने पक्षका र सर्वसाधारण छन्। केवलकार बनाउने पक्षका ताप्लेजुङको फुङलिङ नगरपालिका-४ का ४० वर्षीय दामोदर अधिकारी, ४५ वर्षीय चन्द्र मादेन र कुमार लिम्बू घाइते भएको प्रहरीले जनाएको छ। फक्ताङलुङ गाउँपालिका-५ का ४१ वर्षीय अर्जुन लिम्बू पनि घाइते भएका छन्। प्रहरीका अनुसार अर्जुन केवलकारसँग सम्बन्धित व्यक्ति हैनन्। घाइते सबैको जिल्ला अस्पताल फुङलिङमा उपचार भइरहेको छ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार केवलकार बनाउन दिने र नदिने पक्षबीच दोहोरो झडप भएको हो। दोहोरो ढुंगा हानाहान भएको उनको भनाइ छ। उनका अनुसार घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइसकिएको जानकारी उनले दिए।
तर, स्थानीयले भने घटनास्थल वरपरको अवस्था अहिले पनि तनावपूर्ण रहेको बताएका छन्। केवलकार बनाउन दिने र नदिने पक्षबीच दोहोरो ढुंगा हानाहान चलिरहेको छ। झपडाका कारण ठूलोफेदी असान्त बनेको छ।ढुंगामुढा हुँदा केही सवारीसाधनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। ढुंगाले लागेर केही घरका सिसा पनि फुटेका छन्। प्रहरीका अनुसार फुङलिङ नगरपालिका-१० काफ्ले पाटीमा झडप भएको हो।
पाथीभरा मन्दिर दर्शन गर्न जानका लागि दर्शनार्थीको सहजताका लागि निर्माण गर्न लागिएको केवलकारको शिलान्यास गर्ने कार्यक्रममा अवरोध हुँदा झडप भएको प्रहरीको भनाइ छ। शिलान्यास शुक्रबार भएको छ। केवलकार निर्माण गर्न दिन नहुने पक्षले निर्माण औजारहरु लैजान अवरोध गरेका थिए। त्यसपछि मजदुरहरु प्रतिकारमा उत्रिएपछि दोहोरो झडप भएको हो। पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरु आन्दोलित छन्।

पहिचान पक्षधरहरुले पाथीभरालाई मुकुम्लुङका नाममा आस्थाका साथ मान्दै आएका छन्। केवलकार निर्माण भए प्रकृति नष्ट हुने उनीहरुको दाबी छ। तर, केवलकार निर्माण पक्षधरले भने तीर्थयात्रीको सहजताका लागि निर्माण गर्न लागिएको जनाएको छ।संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले केवलकार निर्माणको सुरुवाती विन्दु काफ्ले पाटीमा केवलकार निर्माणको शुक्रबार शिलान्यास गरेका छन्। शिलान्यसपछि दोहोरो झडप हुँदा काफ्ले पाटी तनावग्रस्त बनेको छ।
यसै क्रममा प्रदेश नं. १ पुन: नामांकन संयुक्त संघर्ष समितिका राम भक्त कुरुम्वाङले सो घटनालाई लिएर राज्य मुकुम्लुङक़ो अस्तित्व नामेट गर्ने तर्फ लागेको हुँदा अबक़ो लड़ाई राज्य आतंकक़ो बिरुद्ध केन्द्रित हुने बताए।








