परम्परागत ‘कार्तिक नाच’ शुरु भयो पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा

IMG-20241108-WA0007-1

काठमाडौं: भगवान् विष्णुका विभिन्न १७ वटा कथामा आधारित ‘कार्तिक नाच’ शुरु भएको छ। बुधबारदेखि पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा ‘कार्तिक नाच’ संचालन भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिएका छन्। ‘भगवान् विष्णुका विभिन्न १७ वटा कथामा आधारित रहेर बुधबारदेखि हरेक दिन फरकफरक नाच देखाइने छ’, उनले भने, ‘आगामी नोभेम्बर १५ सम्म संचालन हुने नाच धार्मिक र तान्त्रिक महत्वसँग पनि जोडिएको छ। यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ, जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ।’ नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनकल्याणका लागि हरेक कार्तिक महिनामा ‘कार्तिक नाच’ देखाउने प्रचलनको शुरु गरेका थिए। ३८३ वर्षदेखि देखाउँदै आएको यस नाचका सर्जक पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय हुन्। सुरुमा पाँच दिन देखाइएको यस नाचलाई सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन पुर्याएका थिए। आर्थिक अभावका कारण हाल यस नाच १० दिनमा सीमित गरिएको  छ।  मल्लकालीन समयमा मैथिली भाषामा संवाद गरिने कार्तिक नाच हाल नेपाल भाषामा देखाइने गरिएको छ। ‘कार्तिक नाच’ संसारको सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा परिचित छ। २७ दिन कार्तिक नाच संचालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ तर हाल यस नाचलाई १० दिनमा खुम्च्याइएको छ। विसं २००७ को जनक्रान्तिपछि ‘कार्तिक नाच’ केही दिनमा खुम्च्याइयो। विसं २००८ देखि २०३७ सालसम्म वराह र नरसिंह अवतार मात्र देखाएर दुई दिन मात्रै देखाइयो।

About Author

Advertisement