विश्व नेपाली साहित्य महासंघको भारत शाखाको आयोजनामा साहित्यिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

अहिले पहाड़मा सबैले आफ्नै हिसाबले बोल्न र लेख्न पाईरहेका छन्: अनित थापा

दार्जिलिङ: विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा दार्जिलिङमा आजदेखि दुई दिवसीय विराट् साहित्य उत्सव तथा सम्मान कार्यक्रम शुरु भएको छ। दार्जिलिङको भानु भवनमा सम्पन्न उक्त साहित्यिक कार्यक्रमको प्रथम दिनको पहिलो सत्रको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ भारत शाखाको सभापति राहुल राई ‘बोगिको’ अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

विश्व नेपाली साहित्य महासंघ भारत शाखाको महासचिव सुमित्र राई अविरलको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत सम्भाषण डा गीता छेत्रीले राखेका थिए। कार्यक्रममा समसामयिक नेपाली साहित्य र विश्व नेपाली साहित्य महासंघको भूमिका विषयमा प्राध्यापक डा गोविन्दराज भट्टराईद्वारा वार्ता राखिएको थियो। यसै कार्यक्रममा विश्व नेपाली साहित्य महासंघको तीनवटा मुखपत्रहरू अतिथिहरूको बाहुलीबाट लोकार्पण गरिएको थियो। यसै कार्यक्रममा विश्व नेपाली साहित्य महासंघको पक्षमा तीनवटा पुरस्कारहरू पनि प्रदान गरिएको छ।

उक्त पुरस्कारहरूमा आशारानी राई स्मृति पुरस्कार साहित्यकार वरिष्ठ साहित्यकार प्राध्यापक तेजमान बराईलीलाई, पहिलो कर्ण थामी स्मृति पुरस्कार साहित्यकार दलसिंह अकेलालाई अनि साहित्यिक पत्रकारिता पुरस्कार पत्रकार सविता थापा संकल्पलाई प्रदान गरिएको छ। तीनैजनालाई अतिथिहरूको बाहुलीबाट खदार्पणसहित, फूलगुच्छा, स्मृति चिह्न, सम्बर्ध्दना पत्र लगायत नगदराशि एक लाख एक हजार पनि प्रदान गरिएको छ।

सम्मानित तीनजना स्रष्टाहरू क्रमैले प्राध्यापक तेजमान बराईली, दलसिंह अकेला र पत्रकार सविता थापा संकल्पले सम्बोधन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको प्रमुख कार्यपाल अनित थापालाई विश्व नेपाली साहित्य महासंघको आयोजनामा सम्मान पनि गरिएको छ। यस अवसरमा उनलाई सुराज मोक्तानद्वारा बनाइएको अनित थापाको चित्र प्रदान गरी सम्मान जनाइएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा म साहित्यकार होइन अनि आफुले नबुझेको र नसक्ने कुरामा बोल्न हुँदैन भन्दै साहित्यिक कार्यक्रम गर्दा मानिसहरू कमै हुन्छ तर मलाई साहित्यिक कार्यक्रममा जानु राम्रो लाग्छ अनि सुन्नु पनि मजा लाग्छ भनी बताएका छन्। उनले भने- ‘अहिले म पनि पुस्तकहरू पढ्न थालेको छु। घरमा सानो पुस्तकालय बनाएको छु। साहित्यिक कार्यक्रम गर्नु गाह्रो छ, दार्जिलिङमा विश्व नेपाली साहित्य महासंघको कार्यक्रम हुनु भनेको ठूलो उपलब्धि हो।’

जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले अघि भने -‘यो दार्जिलिङ गोर्खाहरूको किपट हो, म आफ्नो सन्तानलाई गाली गरेर राजनीति गर्नु सक्दिन, तर म जुन स्थितिबाट निस्केर आएको छु त्यसको सबैलाई याद छ। पहिला पहाड़मा राम्रोसित बोल्न नपाउने, लेख्न नपाउने नेपाली भाषाको लागि गरिएको आन्दोलनमा पनि त्यसताकको राजनीतिज्ञहरूले नदिएको कुरा पछिबाट बुझे। आफ्नै भाषा मांग्दा पनि लुकी लुकी मांग्नु परेको थियो र भाषाले मान्यता पाउँदा पनि खुशी मनाउनु नपाएको रैछ। तर अब पहाड़को राजनैतिक संस्कार परिवर्तन गर्दैछौं।’

थापाले अझ भने -‘अहिले तपाईहरू आफ्नै हिसाबले बोल्न पाईरहनु हुँदैछ, आफ्नै हिसाबले लेख्न पाईरहनु भएको छ, तपाईहरूको कलममा कुनै रोकावट छैन कारण हामी पहाड़मा लोकतान्त्रिक प्रणाली ल्याउन प्रयासरत् छौं।’
कार्यक्रमको दोस्रो सत्र महासंघको सभापति राहुल राई बोगिकोकै अध्यक्षता र वरिष्ठ साहित्यकार एंव त्रिपुरा विश्व विद्यालयको उपकूलपति प्राध्यापक डा गङ्गाप्रसाद प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement