खरसाङ: खरसाङको एक प्रतिष्ठित स्कूल सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयमा आज वार्षिक उत्सव एवम् प्रदर्शनी कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रममा विद्यार्थीहरूले विज्ञान सम्बन्धी विभिन्न प्रदर्शनीहरू लगायत गोर्खा जातीय सांस्कृतिक पहिरन, वाद्यवादन तथा लुप्त प्रायः सामग्रीहरू प्रदर्शनीमा राखेका थिए। त्यसबाहेक विद्यालयका विद्यार्थीहरूद्वारा निर्मित हस्तकला एवम् सिलाई बुनाईका सामग्रीहरू पनि राखिएको थियो। त्यसरी नै विद्यार्थीहरूले मनोरञ्जन प्रदान गर्दै गीत, नृत्यहरू पनि प्रस्तुत गरे भने विभिन्न खेल तथा खाद्यान्नहरूको स्टलहरू पनि राखिएको थियो। जीटीएका चेयरम्यान अञ्जुल चौहान मुख्य अतिथि रहेको यस कार्यक्रमबारे अवगत गराउँदै विद्यालयकी शिक्षिका मिना राईले यो कार्यक्रम विद्यालयको वार्षिक उत्सव रहेको र यो उत्सव प्रत्येक वर्ष नै मनाइने जनाइन्। उनले विशेष गरी विद्यालयमा यस प्रकारको कार्यक्रम गरेर विद्यालयमा हुने कतिपय खर्चहरूमा उपयोग गरिने जनाउँदै विशेष गरी विद्यालयमा एउटा विज्ञान विषयको भवन निर्माण भइरहेको जनाउँदै त्यहाँ धेरै खर्च लाग्ने हुनाले उक्त खर्चमा सहयोग मिल्ने बताइन्। त्यसबाहेक पनि यस कार्यक्रमले लुप्त बनिसकेका हाम्रा जातिय पहिरन, बाजागाजा तथा विभिन्न सामग्रीहरूबारे हाम्रा नानीहरूलाई ज्ञान होस् भन्ने हेतुले पनि यसरी कार्यक्रम गरिएको जनाइन्।

शिक्षिका राईले विज्ञान सम्बन्धी विभिन्न जानकारीहरू गराउँदै विद्यार्थीहरूले जानकारी मूलक चीजहरू राखेको तथा अन्य विभिन्न प्रकारका सामग्रीहरू पनि राखिएको बताइन्। उनले सन्त जोसेफ विद्यालयमा पहिला तीन वर्षको सिलाई बुनाइको तालिम केन्द्र रहेको जनाउँदै यस विद्यालयबाट तालिम लिएका धेरैले सरकारी स्कुलतिर नोकरी समेत पाएको अवगत गराउँदै तर अहिले त्यो केन्द्र नै यहाँबाट हटाइएको जनाउँदै यसको निम्ति दुःख व्यक्त गरिन्। यदि यो केन्द्र यहाँ आजसम्म पनि भएको भए धेरैले यसबाट लाभ उठाउने थिए भन्दै पुनः यसलाई यहाँ स्थापित गराउन सबै पक्षबाट पहल हुन आवश्यक रहेको जनाइन्।

तिनले यस उत्सवलाई सफल पार्न सहयोग र सहभागि बन्ने सबैप्रति विद्यालयको पक्षबाट आभार प्रकट गरिन्।