टीआरआई समाचार
वाराणसी: काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा नेपाली प्रभागका शोधार्थी र विद्यार्थीहरूले आज नेपाली साहित्यको माध्यमिक कालका केन्द्रिय साहित्यकार मोतीराम भट्टको जन्मजयन्ती र पुण्यतिथि मनाए। आजकै दिन नेपाली साहित्यको माध्यमिक कालका केन्द्रिय साहित्यकार मोतीराम भट्ट शरीरमा आएका र शरीर त्याग गरेका थिए। उनको जन्म ईसाब्द १८६६-मा भदौरे औँसी र निधन १८९६-मा भदौरे औँसीकै दिन भएको थियो। ३० वर्ष मात्र बाँचेका उनी नेपाली साहित्यका पहिलो पत्रकार, पहिलो गद्यकार, पहिलो अन्वेषक, पहिलो आलोचक, पहिलो जीवनीकार, पहिलो गुणगायक, पहिलो गोष्ठीकार, पहिलो सम्पादक, पहिलो प्रकाशक, पहिलो मुद्रक, पहिलो नाटककार, पहिलो नाट्य निदेशक, पहिलो अभिनेता, पहिलो गजलकार, पहिलो समस्यापूर्तिकार, पहिलो शृङ्गारकार, पहिलो बहुभाषाज्ञाता साहित्यकार थिए। उनैले संसारलाई पहिलोपल्ट भानुभक्त चिनाउँदै भनेका हुन् – “भानुभक्त गोरखा भाषाका आदिकवि हुन्”।
सभासद्हरूले मोतीराम भट्टको व्यक्तित्व र कृतित्वबारे चर्चा गरे। अध्यक्ष दिवाकर प्रधानले पनि चर्चामा भाग लिँदै मोतीराम नभएका भए भानुभक्त चिन्नदेखि नेपाली साहित्यिक कार्यको गति नै शिथिल हुनेथियो भने। क्रोध समन र सद्भावना सृजनामा कुसको उपयोगी हुने भन्दै कुसे औँसीमा बाबुको मुख हेर्ने दिन मनाइने हुनाले उनले विद्यार्थीहरूलाई मातापिताको आशीर्वादले जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा गरे। विद्यार्थीहरूले आ-आफ्ना बालाई फोन गरे।