खरसाङ: खरसाङ खण्ड अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत भवन मरमत्तिको लागि आज शिलान्यास कार्य सम्पन्न गरिएको छ। उक्त मरमत्ति कामको शिलान्यास कार्य मुख्य अतिथिको रूपमा उपस्थित २८ नम्बर समष्टिको सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा ग्राम पञ्चायत प्रधान विमल तामाङले पूजा अर्चना गरेर गरेका छन्। उक्त चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत भवनको मरमत्ति कार्य जम्मा १९ लाख ९७ हजार ३ सय १७ रूपियाँको खर्चमा हुन लागेको जानकारी प्राप्त भएको छ। उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सभासद श्याम शेर्पाले सबैजना मिलेर राम्रो सोच र योगदान दिएर कार्य गरे राम्रो हुने अनि क्षेत्रमा विकासको कार्यहरू लगातार रूपमा हुने बताएका छन्। उनले अहिले जीटीए, पञ्चायत समिति र ग्राम पञ्चायतमा लगातार विकासको कार्यहरू भईरहेको छ अनि विकास जहाँबाट आए पनि क्षेत्रको विकास भएर जाने बताएका छन्। सभासद श्याम शेर्पाले सबै मिलेर जनताको लागि काम गर्नुपर्छ भन्दै हामीले आफ्नो क्षेत्रको विकासको लागि मिलेर काम गर्नुपर्छ अनि राम्रो सोचेर एका अर्कालाई सहयोग र साथ दिएर कार्य गर्ने आह्वान् गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अभियन्ता सुदर्शन छेत्रीले चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत भवन मरमत्ति विषयमा जानकारी गराएका थिए। यस शिलान्यास कार्यक्रममा मुख्य रूपमा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिका नारी शक्तिका अध्यक्षा सुष्मा मुखिया, चिमनी देवराली ग्राम पञ्चायतको उप प्रधान अनुपमा सुब्बा, खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष दिनेश तामाङ, पञ्चायत सदस्य-सदस्या सीमा थापा, शारदा थापा, दिपेश थापा, लगायत खरसाङ ईञ्जिनियरिङ विभागका कार्यकारी अभियन्ता सुदर्शन छेत्री अनि उनको टोली सहायक अभियन्ता सुदन बराईली, एसएई नवराज थापा लगायत क्षेत्रका समाज का वरिष्ठ व्यक्तिहरु विशेष रूपमा उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्यक्रमलाई सभासद श्याम शेर्पा लगायत अन्यले सम्बोधन गरेका थिए।