सिलगढी: चिया बगानका श्रमिकहरूको बोनसको मुद्दाबारे हिजो (६ नोभेम्बर) कोलकातामा राखिएको बैठकमा मालिक वर्ग उपस्थित नभएको विषयमा भाजपाका सांसद राजु बिष्टले चिन्ता प्रकट गरेका छन्l ‘चिया बगानका श्रमिकहरूको ज्याला अनि बोनसको मुद्दा छिनोफानो गर्नका लागि पश्चिम बंगाल श्रम मन्त्रीद्वारा कोलकातामा डाकिएको तथा उनको उपस्थिति रहेको बैठकमा चिया बगान मालिक संघ उपस्थित नहुनु अत्यन्तै चिन्ताको विषय हो। यसबाट चिया बगानका मालिकहरूको पश्चिम बंगाल सरकारमाथि अविश्वासलाई दर्शाउँछ, अनि यो मेरो विचारमा मन्त्री मोलोय घटकज्यू जुन सम्मानित उच्च पदमा आसिन हुनुहुन्छ त्यसप्रति ठूलो असम्मान पनि हो’, सांसद राजु बिष्टले प्रेस विज्ञप्तिमा यसो भनेका छन्। चिया उद्योगका आफ्नै गुनासाहरू हुनसक्ने भए पनि त्यसको समाधान वार्तालाप अनि छलफलद्वारा मात्रै गर्न सकिन्छ भन्ने उनको भनाइ छ।
उनले विज्ञप्तिमा यसो भनेका छन्, ‘चिया बगान श्रमिकहरू चिया उद्योगको मेरुदण्ड हुन्, अनि दशकौँदेखि उनीहरूले जीवन-यापनको लागि अत्यन्तै कम्ती ज्यालाको कारण संघर्ष गर्दै आएका छन्। पश्चिम बंगाल सरकारले चिया उद्योगद्वारा सामना गर्न परिराखेको मुद्दाहरूको सम्बोधन निम्ति कडा अडान न लिनुपर्ने समय यही हो। समग्र दार्जीलिङ पहाड, तराई अनि डुवर्स क्षेत्रमा चिया श्रमिकहरूसँग यसप्रकारको दुर्व्यवहारविरुद्ध व्यापक आक्रोश व्याप्त छ, अनि यो आक्रोश चिया श्रमिकहरूसम्म मात्र सीमित छैन। चिया बगान संघ र पश्चिम बंगाल सरकारद्वारा देखाइएको यस संवेदनहीनताका कारण क्षेत्रका हरेक नागरिक आज आक्रोशित छन्।‘ उनले अझ यसो भनेका छन्, ‘एकचोटि फेरि म आफ्नो गहिरो चिन्ता साझा गर्दछु कि चिया श्रमिकहरूसँग सम्बन्धित मुद्दाहरूको ईमानदारीपूर्वक अनि गम्भीरताका साथ समाधान नगरिएको खण्डमा आम जनता बीच रहेको यो आक्रोश र असन्तोष कुनैदिन विस्फोटमा परिणत हुनसक्छ। म चिया श्रमिकहरू अनि उनीहरूका सही एवं न्यायपूर्ण मागहरूसँग आफ्नो पूर्ण ऐक्यबद्धता जनाउँदछु, र माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई अबेर हुनुअघि एकचोटि फेरि यसमा हस्तक्षेप गर्न अनुरोध गर्दछु।‘









