काठमांडू: गृहमन्त्री रमेश लेखकले पर्यावरण असन्तुलनका कारण प्राकृतिक प्रकोपका घटना वृद्धि हुँदै जाँदा समग्र मानव जीवन नै जोखिममा पर्दै गएको बताए।
नेपाल अणुव्रत समिति काठमामांडूले आयोजना गरेको ‘पर्यावरण संरक्षणमा सहायक अणुव्रत’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लेखकले प्रकृतिमाथिको दोहनका कारण समग्र पृथ्वीको अस्तित्वमाथि नै खतरा सिर्जना भएकाले यसलाई समयमा नै रोक्न नसके मानव जातिकै अस्तित्व खतरामा पर्ने बताउछन्।
मन्त्री लेखकले भने, “पर्यावरणको असन्तुलनका कारण सेता हिमाल क्रमशः काला पहाडमा रूपान्तरण हुँदै गएका छन्, जसले समग्र इकोसिस्टमलाई नै प्रभावित पारेको छ। यसलाई समयमा नै रोक्न नसके मानव जातिकै अस्तित्व खतरामा पर्न सक्छ।”
पर्यावरणको दोहन गर्नेभन्दा नगर्ने नै बढी प्राकृतिक विपत्तिको सिकार बन्नु परेको बताउँदै उन्ले कतै अत्यधिक वर्षा हुने र कतै सुक्खा रहने जस्ता घटना वृद्धि भई ठुलो जनधनको क्षति हुने गरेको र सेप्टेम्बर चौथो साता नेपालले भोग्नु परेको विपत्ति पछिल्लो एक उदाहरण रहेको बताए।
नेपालको संविधानले समग्र भूभागको कम्तीमा ४० प्रतिशत जङ्गल क्षेत्र कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै मन्त्री लेखकले पर्यावरण संरक्षणमा ढिलाइ नगर्न विश्व समुदायलाई आग्रहसमेत गरे। पर्यावरण संरक्षणमा जैन दर्शनले पु¥याएको योगदानको चर्चा गर्दै मन्त्री लेखकले ‘रुख रोपौँ, प्रकृतिको दोहन नगरौँ’ भन्ने महावीर जैनको मूल आदर्श विश्वभर फैलाउन सके पर्यावरण संरक्षणमा ठुलो योगदान पुग्ने धारणा व्यक्त गरे।
सो अवसरमा जैन समाजका अग्रज किशनलाल दुगडले विश्व समुदायमा देखिएको द्वन्द्व र विवादको प्रत्यक्ष असर पर्यावरण क्षेत्रमा परेको र त्यसको सबैभन्दा ठुलो सिकार अल्पविकसित विकासोन्मुख राष्ट्रका जनताले भोग्नु परेको बताउछन्।
राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले झन्डै दुई सय वर्षअघि भारतको राजस्थान र हरियाणाबाट बसाइँसराइ गरी नेपालमा बसोबास गर्दै आएको मारवाडी तथा जैन समुदायले देशको आर्थिक विकास र सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई बेला बेला गलत प्रचार र अवमूल्यन गर्ने गरिएकोप्रति दुःख व्यक्त गर्दै उनले अहिंसा, इमानदारिता, शालीनता, झुटो नबोल्ने मूल आदर्शबाट विचलित नहुन मारवाडी समुदायलाई आग्रहसमेत गरे।
कार्यक्रममा प्रोफेसर डाक्टर जगदीशप्रसाद अग्रवालले विज्ञानले आविष्कार गरेका औषधीभन्दा आध्यात्मिक आचरणले मानिसलाई शुद्ध र निरोगी बनाउने बताए। संयोजक फूलकुमार लालवानीले मारवाडी समुदाय अणुव्रतका सच्चा साधक रहेकाले जुनसुकै पेसामा सफल हुने गरेको बताए।