विराटनगर: मोरङको बूढीगंगामा रोकेर राखेको म्याजिक भेनमा आगलागी भएको छ।
प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका-२ मुस्लिम टोलमा प्रदेश १-०२-००१ ज ३९४१ नम्बरको भेनमा आगलागी भएको हो। उक्त भेन सुनसरीको दुहबी नगरपालिका-२ का ४६ वर्षीय अजुवा मियाँको रहेको प्रहरीले जनाएको छ।
भेन चालक उनी आफैं हुन्। प्रहरीका अनुसार मियाँले भेन ल्याएर बूढीगंगा-२ स्थित छोरी रोजितनी खातुनको घरको अगाडि रोकेर राखेका थिए। रोकेर राखेकै ठाउँमा अचानक आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
आगलागीको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर दीपक लिम्बू र इलाका प्रहरी कार्यालय नेमुवाबाट सइ प्रवीण खड्काको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट भेनको इन्जिन, सीट र बडीको भाग जलेर क्षति पुगेको डीएसपी जोशीले बताए।
आगलागीमा करिब ७ लाख बराबरको क्षति भएको अनुमान छ। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।









