विश्व खाद्य कार्यक्रमले वितरण गर्ने राहतमा अनियमितता, सुनसरीमा राहत वितरण स्थगित

IMG-20241107-WA0033

इनरुवा: विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले वितरण गरेको राहतमा अनियमितता भएको आरोप लागेको छ। गएको सेप्टेम्बरमा आएको बाढीबाट विस्थापित भएकाहरूलाई वितरण गरिएको राहत रकममा अनियमितता भएको आरोप लागेको छ। विश्व खाद्य कार्यक्रम अन्तरगत बाढीबाट प्रभावित भएका र विस्थापित भएकाहरूलाई राहत रकम वितरण गर्ने काम सेवक नेपाल नामक गैर सरकारी संस्थाले गरेको थियो। राहत वितरणमा अनियमितता भएको आरोप लागेपछि अहिले राहत वितरण रोकिएको छ। सुनसरीको भोक्राह नरसिंह, हरिनगर र वराहक्षेत्र नगरपालिकाका बाढी पीडितका नाममा आएको डब्लूएफपीको बजेटमा अनियमितता भएको भन्दै विरोध भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले वितरण कार्य रोक्न निर्देशन दिएको हो। गत सेप्टेम्बर दोस्रो साता आएको बाढी तथा डुबानमा परेका पीडितहरूलाई विश्व खाद्य कार्यक्रम अन्तर्गत प्रति परिवार नगद १५ हजारको दरले वितरण कार्यको जिम्मेवारी सेवक नेपालले पाएको थियो। उक्त एनजिओले वडाहरूको सिफारिसमा भोक्राहका १ हजार ४ सय ४५ परिवारलाई १५ हजारको दरले २ करोड १६ लाख ७५ हजार रुपैयाँ र वराहक्षेत्रका १ हजार १ सय ९२ परिवारलाई १ करोड ७८ लाख ८० हजार रुपैयाँ वितरण सुरु गरेको थियो। पालिकाले राजनीतिक आस्थाका आधारमा राहत पाउनेको लिस्ट उपलब्ध गराएको भन्दै स्थानीयले विरोध गरेका हुन्। स्थानीयले वितरणमा अनियमितता भएको भन्दै सुरुवातमै विरोध भएपछि राहत वितरण स्थगित गरिएको सुनसरी प्रशासनले जनाएको छ। राहत वितरणमा भेदभाव गरिएको भन्दै स्थानीयहरूले एक महिना अघि प्रदर्शन चर्काउनुको साथै भोक्राह नरसिंह गाउँपालिकाको कार्यालय तोडफोड गरेका थिए। सो क्रममा प्रहरीसँग झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए। अनियमितता भएको भन्दै स्थानीयले एक महिना यता भोक्राह नरसिंह गाउँपालिकाको कार्यालयमा धर्ना तथा नारा जुलुस गरिएका छन्। राहत वितरणलाई प्रभावकारी बनाउन वडा तहमा गठन गरिएको विपद व्यवस्थापन समितिले प्रमाणित गरेको आधार वडा कार्यालयले पीडितहरुको सिफारिस गर्ने र उनीहरूको बैङ्क खाता खोलेर राहत रकम हाल्दिने व्यवस्था गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी बताए। यसअघि बाढी पीडितलाई नगद नै हस्तान्तरण गर्दा झडपको अवस्था आएको र त्यसलाई व्यवस्थित बनाउन बैङ्किङ प्रणालीबाट वितरणको लागि तयारी गर्नुपर्ने भएकाले वितरण कार्य स्थगित भएको प्रजिअ तिवारीले बताए।

भोक्राह र वराहक्षेत्रमा ४६ प्रतिशत पीडितलाई राहत बाँडे पनि ५४ प्रतिशतलाई बाँड्न बाँकी छ। हरिनगरमा पीडितहरूको तथ्याङ्क तयार पार्न सर्वदलीय समिति गठन गरिएको छ। बाढी पीडितलाई प्रदान गरिएको रकममा वडाका जनप्रतिनिधिले मनोमानी गरेको भन्दै भोक्राहमा प्रदर्शन तथा तोडफोड भएपछि हरिनगरमा वितरणलाई प्रभावकारी बनाउन सर्वदलीय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाले जानकारी दिए। सेवक नेपाल भोक्राह नरसिहका कार्यक्रम अधिकृत सञ्जीव खड्काले पालिकाले उपलब्ध गराएको नाममा विवाद भएको बताए। उनले भने, हामीले पालिकाले उपलब्ध गराएको नामका आधारमा राहत दिने हो। यसमा हाम्रो भन्दा पनि पालिकाको समस्या छ। विश्व खाद्य कार्यक्रम अन्तरगत सेवक नेपालले कोशी बेसिनमा रहेका सुनसरीका पालिकाहरूमा बाढी प्रभावितहरूलाई ३ वर्षदेखि राहत वितरण गर्दै आएको छ। सो कार्यक्रम सुनसरीको वराहक्षेत्र, कोशी, भोक्राहा हरिनगर गाउँपालिकामा सञ्चालित छ।

About Author

Advertisement