पत्रकार हेमन्त गिरीको स्मृतिमा श्रद्धाञ्जली सभा

IMG-20241106-WA0266

गान्तोक: पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गर्‍यो।
क्लबका सल्लाहकार किशोर मोक्तानको अध्यक्षतामा सम्पन्न सभामा उपस्थित पत्रकारहरूले स्वर्गीय गिरीप्रति श्रद्धा अर्पण गरे।
सन् १९५९-को २ फरवरीमा जन्मग्रहण गरेका दक्षिण सिक्किमको सुम्बुक निवासी पत्रकार हेमन्त गिरीको गत ३० अक्टुबर २०२४-को दिन सिलगढीमा निधन भएको हो। उनी लामो समयदेखि मृगौला रोगले ग्रसित थिए। श्रद्धाञ्जलि सभाका अध्यक्ष तथा प्रेस क्लबका सल्लाहकार किशोर मोक्तानले पत्रकार गिरीको सामाजिक एवम् पत्रकारितामाथिको योगदानबारे विस्तृत रूपमा प्रकाशित पारे। गिरीले पत्रकारिताको क्षेत्रमा गरेको संघर्षको उल्लेख गर्दै उनले नवोदित कलाकारहरूलाई प्रोत्साहित गर्न पनि उनको योगदान उल्लेखनीय रहेको बताए। मोक्तानले हेमन्त ऋतुमै हेमन्तको निधन हुनु कस्तो संयोग हो भन्ने मन्तव्य गरे।
प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले पत्रकारितामा गिरीको भाषा रसयुक्त एवम् स्तरीय रहेको उल्लेख गर्दै सिक्किममा प्रथमपल्ट पत्रकार कल्याण कोषको गठन गर्नमा पत्रकार गिरीले दिएको अमूल्य योगदानको सराहना गरे। पत्रकारिता र कला दुवै क्षेत्रमा गिरीको बराबर दखल रहेको पनि उनले बताए।
प्रेस क्लबका महासचिव डिल्लीराम दुलालले हेमन्त गिरीको निधन पत्रकारिता क्षेत्रको निम्ति अपुरणीय क्षति हो भन्दै उनका योगदानलाई सदैव प्रेस क्लबले सम्झनाको तरेलीमा राख्ने मन्तव्य गरे।
पत्रकार प्रवीण खालिङले स्वर्गीय गिरीको जीवनीमाथि प्रकाश पार्दै सामाजिक एवम् पत्रकारिता क्षेत्रमा उनले गरेका कालजयी कर्महरूको उल्लेख गरे। प्रेस क्लबका पूर्व अध्यक्ष शेखर खवास र पत्रकार कविता शर्माले पनि गिरीका सबल पक्षहरूमाथि आफ्ना अनुभवहरू साझा गरेका थिए।

About Author

Advertisement