मोरङमा भएको दुर्घटनामा ज्यान गुमाएकी भीमा राई प्रकरणमा छानबिनको माग सहित ज्ञापन पत्र

IMG-20241106-WA0203

बिराटनगर: धरान उपमहानगरपालिका ११ की ४३ वर्षीय भीमा राईको दुर्घटनामा निधन भएपछि न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाइएको छ। भीमा राई दुर्घटना छानबिन तथा क्षतिपूर्ति सङ्घर्ष समितिले दुर्घटनाको छानबिनको माग गर्दै प्रशासनमा ज्ञापन पत्र बुझाएको हो। गत अक्टूबर २४मा मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ पूर्वपश्चिम राजमार्गको लात्तालात्ती स्थित कुस्ती खोलाको पुलमा सवारी दुर्घटनामा परी को २८ प ६१३२ को स्कुटर सवार भीमाको घटनास्थलमै ज्यान गएको थियो।
उक्त दुर्घटनामा मे १ ख २७९१ नं को बस चालक ४० वर्षीय नेत्रबहादुर दर्जीले ठक्कर दिएको र तत्काल को १ क ३४१७ नम्बरको टिपर चालक २९ वर्षीय श्यामबहादुर चौधरीले पछाडिबाट थप ठक्कर दिएबाट स्कुटर चालक राईको मृत्यु हुन पुगेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
घटनामा सवारी चलाउने चालकहरूलाई कडा कारबाहीको माग गर्दै पीडित पक्षलाई उचित क्षतिपूर्ति दिनु राज्यको कर्तव्य र जिम्मेवारी रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा सङ्घर्ष समितिले ज्ञापन पत्र बुझाएको हो।
घटना भएको दिनको ३ बजेर ६ मिनेटदेखि ३ बजे र ५८ मिनेटसम्मको सिसी टिभी फुटेजसमेत गायब गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। घटना कसरी घट्यो भन्ने सत्य, तथ्य थाह पाउन घटना भएको स्थानको कभरेज गर्ने सिसीटिभी फुटेज गायब गरिएको र कसले नष्ट गरेको वा गायब गर्न खोजेको हो सबैभन्दा पहिले अनुसन्धान तथा प्रविधिमार्फत रिकभर गरी उपलब्ध गराउन समेत समितिले माग गरेको छ।
दुर्घटनामा संलग्न चालकहरूलाई कडा कारबाही गर्न र सो सम्बन्धमा गम्भीर अनुसन्धान गर्दै सवारी दुर्घटनामा ज्यान जाँदा पाँच लाख क्षतिपूर्ति दिएर घटना मिलाउने सवारी ऐन संशोधन गर्नुपर्ने लगायतको माग समेत ज्ञापन पत्रमा उल्लेख रहेको छ।
मृतकको राईको साथमा रहेको झोला र त्यसमा रहेको रकम, ५ तोला भन्दा बढी सुन र अन्य सामानहरू समेत हराएकाले सीसी टिभी फुटेज अध्ययनमार्फत हराएका वस्तुहरू आफूले पाउनुपर्ने मृतक राईको श्रीमान खविराज राईले माग राखेका छन्। ज्ञापन पत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश भट्टराईले आफू यस विषयमा गम्भीर भएको प्रतिक्रिया दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement