अर्को बैठक १६ नोभेम्बरमा सिलगढीमा हुने
खरसाङ: चियाबारी श्रमिकहरूको बोनसलाई लिएर कोलकोतामा डाकिएको सभा मालिक पक्षको अनुपस्थितिले विफल बनेको छ। चियाबारी श्रमिकहरूको बीस प्रतिशत बोनसलाई लिएर पश्चिम बंगाल सरकारको श्रम मन्त्री मलय घटकको अगुवाईमा सरकार, युनियनहरू र मालिक पक्षलाई लिएर आज कोलकोतामा बैठक बोलाइएको थियो। उक्त बैठकमा भाग लिनलाई दार्जिलिङ पहाड़को सातवटा राजनैतिक पार्टीको ट्रेड युनियनका प्रतिनिधिहरूको साझा मञ्च समन्वय मञ्चको प्रतिनिधिहरू कोलकोता पुगेका थिए अनि बैठक बसेको आधा घण्टापछि मालिकवर्गले दिवाली र छठ पूजाको व्यस्तता देखाएर बैठकमा आउन नसक्ने पत्र सरकारले देखाएपछि बैठक हुन सकेन।

उक्त बैठकमा पहाड़बाट गएका ट्रेड युनियनका प्रतिनिधिहरूले सभा हलबाट बाहिर आएर बैठक असफल भएको जानकारी गराएका छन्। आज कोलकोतामा भएको बैठकमा मालिक पक्षहरू अनुपस्थित रहेको कारणले बैठक असफल बनेपछि अब अर्को बैठक १६ नोभेम्बरमा सिलगढीमा आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। यस विषयमा बैठक हलदेखि बाहिर आएपछि सातवटा ट्रेड युनियनको समन्वय मञ्चको प्रतिनिधिहरूमा भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय अध्यक्ष जेबी तामाङले पहाडको सातवटा राजनैतिक पार्टीको ट्रेड युनियनका समन्वय मञ्चको प्रतिनिधिहरू कोलकोताको बैठकमा उपस्थित रहेको र आफुहरूले बैठकमा आधा घण्टासम्म कुरा गरेपछि बैठकमा मालिकवर्ग दिवाली र छठ पूजाको व्यस्तता देखाएर बैठकमा आउन नसक्ने पत्र सरकारले देखाएपछि बैठक असफल भएको जानकारी गराएका छन्। उनले हामी यति टाड़ाबाट कोलकोताको बैठकमा बस्न आएको तर मालिकवर्गले हेल्चेक्राई गरेर बैठकमा अनुपस्थिति दिएको बताएका छन्। उनले अर्को बैठकमा सिलगढीमा सम्पन्न हुने जानकारी गराएका छन्।

त्यसरी नै समन्वय मञ्चको अर्का नेता तथा सीपीआईएमको श्रमिक संगठन दार्जिलिङ जिल्ला चियाबारी मजदुर युनियनको जिल्ला सचिव समन पाठकले हामीले पचास हजार चियाबारी श्रमिकहरूको हस्ताक्षर टेबलमा राखिदिएर जनताको आवाज तथा श्रमिकहरूको एउटै मांग बीस प्रतिशत बोनस रहेको बताएका छौं भनी बताएका छन्। उनले बैठकको आधा घण्टापछि मालिकवर्गको चिट्ठी देखाएर आउन नसक्ने कुरा भनिएपछि हामीले पनि मालिकवर्गले त्यसरी हेल्चेक्राई गर्छ भने हामी अर्को सभा कोलकेतामा होइन तर चियाबारी श्रमिकहरूले काम गर्ने ठाउँमा नै सभा हुनुपर्छ भन्दै अर्को सभा आगामी १६ नोभेम्बरमा सिलगढीमा हुने भएको जानकारी गराएका छन्।