आईपीएलको मेगा लिलामीमा १५७४ जना खेलाड़ी सामेल

IMG-20241106-WA0103

नयाँ दिल्ली: भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)-ले बताएअनुसार, ११६५ भारतीय खेलाड़ीहरूसहित जम्मा १५७४ जना क्रिकेटरहरूले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५ अघि सऊदी अरबको जेद्दामा २४ र २५ नोभेम्बरमा हुने मेगा लिलामीको निम्ति पञ्जीकरण गराएका छन्। यस सूचीमा ३२० जना क्याप्ड (अन्तर्राष्ट्रिय म्याच खेल्ने) र १२२४ जना अनक्याप्ड (अन्तर्राष्ट्रिय म्याच नखेल्ने) खेलाड़ी सामेल छन्। यसरी एसोसिएट देशहरूबाट ३० जना खेलाड़ी रहेका छन्। यसबाहेक भारतका ९६५ जना अनक्याप्ड खेलाड़ी रहेका छन्। लिलामीमा जेम्स एण्डरसन जस्ता दिग्गजले पनि पञ्जीकरण गराएका छन्, जसको बेस प्राइस १.२५ करोड़ रुपियाँ रहेको छ। यसरी दिग्गज अलराउण्डर बेन स्टोक्सले चाहिँ मेगा लिलामीमा हिस्सा लिनेछैनन्। खेलाड़ीहरूका पञ्जीकरण अधिकारिक रूपले सोमवार बन्द भएको थियो। जम्मा ४०९ जना विदेशी खेलाड़ीले लिलामीको निम्ति पञ्जीकरण गराएका छन्। यो लगातार दोस्रो साल हुनेछ, जब लिलामी विदेशमा हुनेछ। आईपीएल २०२४ अघि लिलामी दुबईमा भएको थियो। लिलामी २२ नोभेम्बरदेखि पर्थमा भारत र अष्ट्रेलियाबीच शुरु हुने पहिलो टेस्ट म्याचको तेस्रो र चौथो दिनसँग ठोक्किनेछ। प्रत्येक फ्रेञ्चाइजीले अधिकतम २५ जना खेलाड़ीको (सम्बन्धित रिटेन खेलाड़ीहरू सहित) टीम बनाउन सक्नेछ। यसरी लिलामीमा जम्मा २०४ जना खेलाड़ी बिक्री हुनेछ। यस साल लिलामीमा रिषभ पन्त, केएल राहुल, श्रेयस अय्यर र अर्शदीप सिंह जस्ता स्टार भारतीय खेलाड़ीहरू पनि सामेल हुनेछन्।
भारतलाई छोड़ेर लिलामीमा दक्षिण अफ्रिकाबाट दोस्रो सर्वाधिक ९१ जना खेलाड़ीले हिस्सा लिनेछन्। यस सूचीमा अष्ट्रेलिया ७६ जना खेलाड़ीको साथ तेस्रो स्थानमा रहेको छ। यसरी ईंग्ल्याण्डका ५२ अनि न्यूजील्याण्डका ३९ जना खेलाड़ीले लिलामीमा हिस्सा लिनेछन्। यस सूचीमा वेष्ट इण्डिज (३३), अफगानिस्तान (२९) र श्रीलंका (२९) पनि सामेल छ। एसोसिएट देशहरूमा अमेरिकाका १० जना, नीदरल्याण्डका १२ जना, कनाडाका ४ र स्कटल्याण्डका २ जना खेलाड़ीले पञ्जीकरण गराएका छन्। यूएई र स्कटल्याण्डबाट पनि १-१ जना खेलाड़ी रहेका छन्। नेपालबाट चाहिँ कुनै खेलाड़ीले पञ्जीकरण गराएनन्।
लिलामीको अवधि १० वटा फ्रेञ्चाइजीसँग २०४ जना खेलाड़ीहरूमाथि खर्च गर्न सामूहिक रूपले ६४१.५ करोड़ रुपियाँ रहनेछ। यी २०४ वटा स्थानमा ७० वटा विदेशी खेलाड़ीहरूका निम्ति निर्धारित छ। अहिलेसम्म १० वटा फ्रेञ्चाइजीले ५५८.५ करोड़ रुपियाँको सामूहिक खर्चमा ४६ जना खेलाड़ीलाई रिटेन गरेको छ। प्रत्येक फ्रेञ्चाइजीलाई आफ्नो टीम बनाउन १२० करोड़ रुपियाँ आवण्टित गरिएको छ। पञ्जाब किंग्ससँग सर्वाधिक ११०.५ करोड़ रुपियाँ रहेको छ। पञ्जाबको टीमले केवल दुईजना अनक्याप्ड खेलाड़ी शशांक सिंह र प्रभसिमरन सिंहलाई जम्मा ९.५ करोड़ रुपियाँमा रिटेन गरेको छ। सञ्जु सेमसनको कप्तानीमा रहने राजस्थान रोयल्ससँग ६ जना खेलाड़ी रिटेन गरेपछि सबैभन्दा कम्ती ४१ करोड़ रुपियाँ रहेको छ। कलकत्ता नाइट राइडर्सले पनि ६ जना खेलाड़ी रिटेन गरेको छ तर उनीहरूसँग ५१ करोड़ रुपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement